
काठमाडौं, ६ माघ। अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८१।0८२ को पहिलो ६ महिनाको प्रमुख आर्थिक सूचक आइतबार सार्वजनकि गरेको छ ।
अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थीक बर्ष पहिलो ६ महिना (साउन–पुस) मा निर्यात ३१।८ प्रतिशतले वृद्धि भएको छ ।
चालु आर्थीक बर्ष पहिलो ६ महिनामा आयात–निर्यात अनुपात ८।३ः१ रहेको छ । गत आव सोही अवधिमा १०।२ः१ थियो ।
अर्थ मन्त्रालयका अनुसार चालु आर्थीक बर्ष पहिलो ६ महिनामा राजस्व १२।७ प्रतिशतले वृद्धि भएको छ । गत आर्थीक बर्षमा सोही अवधिमा भने ८।२ प्रतिशतमात्र बढेको थियो ।
पहिलो ६ महिनामा सरकारको खर्च ७।८ प्रतिशतले बढेको छ । वित्तीय संस्थामा निक्षेप संकलन २ खर्ब ११ अर्बले बढेको छ भने निक्षेप संकलन ३।३ प्रतिशतले सुधार भएको छ । कर्जा प्रवाह पनि ४।४१ प्रतिशतले बढेको छ ।
मन्त्रालयका अनुसार चालु खर्चका लागि विनियोजित ७ खर्ब ३१ अर्ब ७९ करोडमध्ये पुस मसान्तसम्म २ खर्ब ६६ अर्ब ८५ करोड खर्च भएको छ । यो कुल व्ययको ३६।५ प्रतिशत हो ।
त्यस्तैगरी कुल विनियोजित ३ खर्ब ५२ अर्ब ३५ करोड पूँजीगत खर्चमध्ये ६ महिनामा ५६ अर्ब ९४ करोड खर्च भएको छ । यो वार्षिक विनियोजनको तुलनामा १६।२ प्रतिशत खर्च हो ।
वित्तीय व्यवस्थातर्फ विनियोजित ३ खर्ब ६७ अर्ब २८ करोडमध्ये पुस मसान्तसम्म १ खर्ब ५८ अर्ब ६६ करोड खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । यो वार्षिक विनियोजनाको तुलनामा ४३।२ प्रतिशत खर्च हो ।
त्यस्तैगरी राजस्व बाँडफाँटतर्फ ५१ अर्ब ७४ करोड हस्तान्तरण भएको छ । वार्षिक विनियोजन भने १ खर्ब ५९ अर्ब बराबर थियो । यो ३२।५ प्रतिशत हस्तान्तरण हो ।
मन्त्रालयका अनुसार चालु आव पहिलो ६ महिनामा वित्तीय समानीकरण अनुदानतर्फ ६८ अर्ब २६ करोड, ससर्त अनुदान १ खर्ब १२ अर्ब २५ करोड, समपूरक अनुदान २ अर्ब ४३ करोड, विशेष अनुदान २ अर्ब ५१ करोड गरी कुल १ खर्ब ८५ अर्ब ४४ करोड हस्तान्तरण भएको छ । यो भनेको वार्षिक विनियोजनको तुलनामा ४५।४ प्रतिशत बराबर हस्तान्तरण हो ।