सरकारबारे घनश्यामको टिप्पणी : संविधान संशोधनको कुरा जनता झुक्याउन ल्याएका हुन्

  • बुटवल २७ पुस । नेकपा एकीकृत समाजावादी रुपन्देहीको शनिबार बुटवलमा बसेको बैठकलाई सम्बोधन गर्दै महासचिव भुसालले सत्ताको स्वार्थसँग जोडिएर बनेको सरकारले केही काम गर्न नसक्ने बताएका हुन् । महासचिव भुसालले कांग्रेस र एमाले गठबन्धनको वर्तमान सरकार सत्ताकै लागि मात्रै बनेको टिप्पणी गरेका छन् ।
    उनले कांग्रेस र एमालेले संविधान संशोधनको कुरा गरे पनि त्यो गर्नका लागि नभई सत्तामा पुग्नका लागि मात्रै गरिएको बताए । ‘संविधान संशोधनको कुरा जनता झुक्याउन ल्याएका हुन्’, भुसालले भने, ‘अहिलेको संविधान सन्तुलित छ, संशोधन गर्न दुई दलमात्रै मिलेर सम्भव नै छैन।’
    उनले केपी शर्मा ओली नेतृत्वको सरकार केही पनि काम नगर्नका लागि बनेको बताए । ‘एउटा भारतसँग रिसाएको छ, कांग्रेसलाई बीआरआईको नाम लिनेवितिकै ज्वरो आएको छ’ उनले भने, ‘अन्तर्राष्ट्रिय राजनीतिले पनि गर्दैनन्, यी दुई दलले केही पनि गर्दैनन्।’ उनले वर्तमान सरकार विभिन्न काण्डहरुको स्वार्थसँग जोडिएकाले सत्ता जोगाउने बाहेक केही नगर्ने बताए ।

    उनले सरकारले रास्वपाका सभापति रवि लामिछानेको सन्दर्भममा एकै ठाउँमा मुद्दा चलाए हुनेमा बढी दुःख दिएको भान जनतामा परेको बताए । उनले राज्यले व्यक्तिगत बदला लिन नहुने बताउँदै सरकारकै कारण सडकमा गैरजिम्मेवार व्यक्तिहरुको आन्दोलन शुरु भएको बताए । ‘वर्तमान सरकारले नालायकी गर्छ, नालायकीको विरोध हुन्छ, त्यसले गैरजिम्मेवार व्यक्तिहरु अगाडि आउन सक्छन्’ भुसालले भने ।
    महासचिव भुसालले अब नेकपा एकीकृत समाजवादी पार्टीलाई आन्दोलनबाट स्थापित गर्ने बताए । उनले स्थानीय, जिल्ला र प्रदेश हुँदै राष्ट्रिय स्तरका समस्यालाई आन्दोलनका रुपमा अगाडि बढाएर ०८४ को निर्वाचनसम्म स्पष्ट मुद्दा बोक्ने पार्टीका रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाए ।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation