
बुटवल, २७ पुस । उपभोक्ता हित संरक्षण मंच नेपालले शनिबार रुपन्देहीको बुटवलमा आयोजना गरेको व्यवसाय र उपभोक्ताको मानव अधिकार सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रमलाई उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले उपभोक्ताको हित संरक्षण गर्न व्यवसायीले इमानदारिता देखाउनैपर्ने बताएका छन ।
प्रदेश सरकारले अनुगमनलाई तीव्रता दिन प्रदेशस्तरीय संयन्त्र निर्माण गरिने समेत उनले बताए । ‘चाडपर्वको बेलामा मात्रै होइन, १२ महिना, ३६५ दिन नै अनुगमन र निगरानी हुने व्यवस्था गरिनुपर्छ’मुख्यमन्त्री आचार्यले भने,‘प्रदेश तहबाट पनि एउटा अनुगमन संयन्त्र बनाउछौं ।’ बजारमा हुने अनुचित व्यापारलाई निरुत्साहित गर्न उपभोक्ता अधिकार संरक्षणलाई बलियो बनाउनुपर्ने उनले बताए । अखाद्य वस्तुको उपभोगका कारण नागरिकको स्वास्थ्यमा नराम्रो असर परिरहेको, नसर्ने तर दीर्घ रोगबाट पीडित हुनुपर्ने अवस्था रहेको भन्दै मुख्यमन्त्री आचार्यले अखाद्य वस्तुको कारोबारलाई निरुत्साहित बनाउनुपर्ने बताए ।
‘उपभोक्ताको हितसँग जसले खेलवाड गर्छ । म्याद गुज्रेका, अखाद्य वस्तु उत्पादन तथा विक्रीवितरण गर्छ त्यसलाई कानूनी दायरामा ल्याउन अनुगमनलाई प्रभावकारी बनाउनुपर्छ’उनले भने,‘यसका लागि तीन तहकै सरकारको संयन्त्र परिचालन हुनुपर्छ । नागरिक तह, उपभोक्ताको क्षेत्रबाट पनि निगरानी र खबरदारी भइरहनुपर्छ ।’
उपभोक्ताको अधिकार सुनिश्चित गर्न सशक्त कानूनी संरचना निर्माण, सचेतना अभियानहरु तीव्र पारिनुपर्ने, गुणस्तरीय परिक्षण र नियमनको कामलाई प्रभावकारी रुपमा अघि बढाइने समेत उनले बताए ।
सामाजिक सुधारका काममा सरकारले सफलता हासिल गरेको भन्दै मुख्यमन्त्री आचार्यले प्रदेश तहमा देखिएका कुपोषण जस्ता समस्यालाई न्यूनीकरण गर्न विशेष पोषण कार्यक्रम सञ्चालन गरिएको समेत बताए ।