मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ शिल्ड भलिबल: मणिमुकुन्द भलिवल क्लव र त्रिभुवन आर्मी अघिल्लो चरणमा

  • बुटवल : बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनसीपमा बिहीबार त्रिभुवन आर्मी र कणिमुकुन्द क्लबले जीत हात पारेका छन् । तेस्रो खेल भने शीतलहरका कारण स्थगित भएको छ । बुटवलको रामनगर खेल मैदानमा भएको प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा आर्मीले भारतीय गुजरात स्टेट भलिबल एशोसिएसनलाई ३ , १ सेटमा पराजित गरेको हो ।

    आर्मीले खेलको पहिलो सेट १५, २५ ले हारेपनि त्यसपछि खेलको लय समात्दा जीत निकालेको हो । त्यसपछि दोस्रो सेट २९–२७ ले जित्दै आर्मी खेल फर्कियो । तेस्रो र चौथो सेट २५–२१ र २५–२२ ले जित्दै आर्मी पहिलो जित हात पार्न सफल भयो । नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका धनपति कुँवर,सरन सामारी, धनपति कुँवर, धनबहादुर भट्ट, दुर्गा महतो, दुर्गा बहादुर खड्कासहित आर्मी मैदान उत्रेको थियो । यद्यपि आर्मीले भारतीय खेलाडीका सर्भिसलाई रिसिभ गर्न नसक्दा अंक धेरै गुमाउनु परेको थियो । निकै प्रतिश्पर्धात्मक खेलमा एक समय २३–१९ अंककासाथ जित नजिक पुगेको स्थितीमा लगातार अंक गुमाउन पुग्दा खेल खेल २९–२७ सम्म पुगेको थियो । जेहान मल्लीकको नेतृत्वमा रहेको गुजरातले खेलको सुरुवातमा अंक बटुल्दै ६–० ले अग्रता लिएको थियो । आर्मीका स्पाइकरलाई चल्न नदिएपनि आर्मीले पहिलो टाइम आउट लिएर मैदानमा उत्रेपछि गुजरातलाई भारी भएको थियो । तेस्रो सेटमा धन बहादुर भट्ट र सरन सामरीको लगातारको सफल स्पाइक तथा गुजरातका ६ वटा सर्विसले नेट पार गर्न नसक्दा आर्मीले २५–२१ अंककासाथ जित निकालेको थियो ।

    भारतीय टिमको कमजोरी पत्ता लगाएको आर्मीले चौथो सेट २५–२२ मा जितेको थियो । मदन भण्डारी स्पोटर्स एकेडेमीले आयोजना गरेको भलिबल भ्याम्पियनसीपमा दोस्रो खेल रुपन्देहीको मणीमुकुन्द भलीबल क्लबले ३,० को सोझो सेटमा जितेको छ । पहिलो सेटमा मणिमुकुन्द क्लबले २५, २१ ले जितेको थियो । दोस्रो सेटमा २५ १५ हुदै मणिमुकुन्द पुन अगाडि लागेको थियो । तेस्रोमा २५, २१ सेट ल्याएपछि मणिमुकन्द विजयी बनेको थियो । बिहीबारको ससस्त्र प्रहरी र गल्कोटबीचको खेल भने शीतलहरका कारण स्थगित भयो । खेलमा चौथो सेटको प्रतिश्पर्धा हुदैगर्दा शीतलहरका कारण खेल स्थगित भएको हो ।

    सम्पन्न भएका सेटहरुमा २ सेट गल्कोटले र १ सेट सशस्त्र प्रहरीले जितेका थिए । स्थगित भएको खेल प्राविधिक र आयोजक टिम बसेर तय गरिने भलिबल विभाग प्रमुख चन्द्रवन्दना राईले बताउनुभयो । मदन भण्डारी स्पोटर्स एकेडेमीले आफ्नो १६ औं स्थापना दिवसको अवसर पारेर मदन भण्डारी गोल्डकप रनिङ शिल्ड इन्डो नेपाल पुरुष भलिबल प्रतियोगिता गरेको हो । च्याम्पियनसिपमा प्रथम पुरस्कार ७ लाख, द्वितीय पुरस्कार ३ लाख ५० हजार, तृतीय पुरस्कार १ लाख ७५ हजार, सान्त्वना पुरस्कार १ लाख, उत्कृष्ट खेलाडीका लागि २५ हजार र विधागत पुरस्कार १० हजार रहेको छ । प्रतियोगितामा एक भारतियसहित ८ टिम सहभागी छन् । ती मदन भण्डारी स्पोर्टस एकेडेमी, नेपाल आर्मी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, गुजरात स्टेट भलिबल एसोसिएसन, मणिमुकुन्द भलिबल क्लब, गल्कोट भलिबल क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र हुन्।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation