
पोखरा १३ पुस। रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरा आयोजनामा फेवाताल किनारमा २६ औं पोखरा सडक महोत्सव आज शनिबारदेखि सुरु भएको छ।
अंग्रेजी नयाँ वर्ष–२०२५ स्वागतार्थ सुरु भएको महोत्सवको विशेष समारोहबीच नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका छ ।‘ सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ नाराका साथ व्यवसायीहरुले सडकमै रेष्टुरेन्ट उतारेर ग्राहकलाई सेवा दिने छन् । महोत्सवको आकर्षणमा विभिन्न जातजातिका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, कन्सर्ट, खेलकुद खेलकुदतर्फ बोट रेस, वेटर रेस, टंग अफ बार, मःम, ससेज खाने प्रतियोगिता, सचेतनामूलक सडक नाटक, सेल्फी फोटो बुथ, पोखराको पर्यटनको विकास, प्रवद्र्धन, अवसर तथा चुनौती विषयमा टक सो, पोखरा सेरोफेरोको स्थानीय उत्पादित हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजलाई प्राथमिकता साथ प्रदर्शनीको व्यवस्था रहेका छन् ।
विविध कार्यक्रमका साथ पर्यटनको राजधानी पोखरामा ५ दिनसम्म चल्ने महोत्सवमा करिब ५ लाख पर्यटक भित्राउने लक्ष्य आयोजकको छ ।
रेवान महासचिव एवं प्रचारप्रसार समिति संयोजक वीरेन्द्र शेरचनले स्थानीय कलासंस्कृति, मौलिक भेषभूषा प्रदर्शनी, स्थानीय उत्पादनलाई जोड दिएको जानकारी दिए । सडक महोत्सवलाई अन्तर्राष्ट्रियजगतसम्म चिनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेकाले यसपटक पनि सकारात्मक सहयोगको अपेक्षा लिएको बताए ।
आयोजक समितिका अध्यक्ष विश्वराज पौडेलका अनुसार महोत्सवले नेपालमा कला, संस्कृति, तथा पर्यटनलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्ने राम्रो अवसर प्रदान गरेको छ । उनका अनुसार समग्रमा सडक महोत्सव स्थानीयस्तरमा आर्थिक गतिविधि चलायमान, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना गर्न गतिलो माध्यम बनेको बताए । लेकसाइड यतिखेर ध्वजापताका, ब्यानरले दुलही झैं सिँगारिएको छ ।