सौराहामा हात्ती महोत्सव सुरु

  • नारायणगढ, ११ पुस । नेपाल सरकारका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले १८ औं चितवन हात्ती तथा पर्यटन महोत्सव बिहिबार उद्घाटन गरेका छन । सिंहले उद्घाटन गरेसँगै सौराहामा हात्ती महोत्सव सुरु भएको छ ।
    सो अवसरमा उपप्रधानमन्त्री सिंहले हात्तीले चितवनको पर्यटन विकासमा महत्पवूर्ण भूमिका निर्बाह गरेको भन्दै हात्ती महोत्सव र त्यसमा हुने गतिविधिको विरोध गर्दा पर्यटन क्षेत्रमा असर पर्ने बताए । अधिकारका नाममा हात्ती महोत्सव रोकिनु हुँदैन उनले भने महोत्सवलाई जनावरमैत्री बनाउँदै अझै शक्तिशाली बनाउनु पर्छ । हात्तीका गतिविधि अवलोकन गर्न पर्यटन आउने भन्दै यो सकरात्मक पक्ष भएको बताए ।
    हात्ती महोत्सव गलत प्रचारको सिकार हुन नहुने भन्दै उहाँले महोत्सवलाई महोत्सवलाई प्रभावशाली बनाउन सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
    स्थानीय जनतालाई फाइदा हुने गरी जैविक विविधताको न्यायोचित प्रयोग गर्नुपर्ने भन्दै उहाँले संरक्षण र पर्यटनलाई संगसंगै अगाडि बढाउनु पर्नेमा जोड दिए । सम्पदा जोगाउँदै जनताले अधिकतम फाइदा लिने गरी त्यसको उपयोग गर्नुपर्ने उहाँको भनाई छ । महोत्सव प्रदेश सभा सांसद कृष्णप्रसाद खनालले पशुअधिकारकर्मीहरुले हात्ती महोत्सवको विरोध गर्नुको अर्थ नभएको बताएका छन । उनले वृहत् पर्यटन विकास समिति गठन गरी सोही समितिले हात्ती महोत्सव गर्नुपर्ने सुझाव दिए ।
    त्यतै महोत्सवमा जिल्ला समन्वय समितिका सभापति नारायणप्रसाद अधिकारीले चितवनको पर्यटन विकासको लागि पाहुनालाई प्रधान गरिने सेवाको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए ।
    कार्यक्रमा रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले हात्ती महोत्सवलाई विवादित बनाएर चितवनको पर्यटनलाई ध्वस्त पार्ने खेल सुरु भएको बताए ।
    महोत्सवका संयोजक रामकुमार अर्यालले सौराहामा दुई दशक अघि देखि आयोजना गर्दै आएको महोत्सवका कारण सौराहा सहित चितवनमा हरेक वर्ष ४० प्रतिशत पर्यटकहरुको आगमनमा वृद्धि हुने गरेको बताए । हात्ती महोत्सव अन्तर्गत हात्तीको श्रृंगार, हात्ती वनभोज, हात्तीमैत्री फुटवल पेनाल्टी, हात्तीमैत्री म्यूजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुंगा दौड प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीहरुसँग गोष्ठी, चितवनमा पर्यटनको सम्भावना हिजो र आज विषयक अन्तरक्रिया कार्यक्रम हुने संघका महासचिव गुणराज थपलियाले जानकारी दिए।
    संघका अध्यक्ष गंगा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा। गणेश पन्त, वडा नम्बर – ७ का वडाध्यक्ष सजना महतो, होटल संघ नेपालका अध्यक्ष विनायक शाह, नाटाका अध्यक्ष कुमारमणि थपलिया, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडालगायतले मन्तव्य राखेका थिए । रत्ननगर नगरपालिका संरक्षक रहेको सो हात्ती महोत्सवको सहआयोजकमा यूनाईटेड हात्ती संचालन सहकारी संस्था लिमिटेड र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको सह–आयोजनामा महोत्सव गर्न लागिएको हो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation