
नारायणगढ,१० पुस ।भरतपुर महानगरपालिकाले राष्ट्रिय रैथाने खाना महोत्सव आयोजना गर्ने भएको छ । पश्चिम चितवनको मेघौलीमा यही पुस १२ गतेदेखि १६ गतेसम्म रैथाने खाना महोत्सवको आयोजना गर्न लागिएको बुधबार पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
महोत्सवको आयोजकमा भरतपुर महानगरपालिका वडा नम्बर २७ र २८, होटल व्यवसायी संघ चितवन, मेघौली उपभोक्ता समिति, मध्यवर्ती क्षेत्र, मेघौली पर्यटन विकास समिति र चितवन गोलाघाट पर्यटन विकास समिति छन् । मेघौलि महोत्सवमा ५० वटा स्टल र १० वटा कुमाल, थारु, बोटे लगायतका जातिका परम्परागत शैलीका घरहरु रहनेछन् । यस महोत्सवले स्थानीय परिकार र सांस्कृतिक पहिचान प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटनलाई थप प्रेरित गर्ने लक्ष्य लिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन । भ्रमण वर्षको निरन्तरता स्वरुप मेघौलीमा महोत्सवको आयोजना गरिएको उहाँले बताइन । भ्रमण वर्ष सफल भएको भन्दै मेयर दाहालले भरतपुरमा १० लाख आन्तरिक पर्यटक आएको जानकारी दिइन ।
महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले आर्थिक चलायमान र भरतपुरका नयाँ पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि यो महोत्वस फलदायी हुने विश्वास जानकारी दिइन ।
महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति रहने छ । थारु र कुमाल जातिको सांस्कृतिक नृत्यहरु र थारु, दराई, कुमाल, मगरलगायत विभिन्न जातिका खानाका परिकार हाँस र कुखुराको मासु, घोँगी, चिचर, माछा खान पाइने मेघौली मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मायाराम चौधरीले बातइन । चितवन गोलाघाट पर्यटन विकास समितिका अध्यक्ष विशाल कुमालले लगाएत बोलेका थिए।