आधुनिक डिपो निर्माणका लागि डीपीआर बनाउन सम्झौता

  • मंसिर १२ बुटवल । रोहिणी नदी किनारस्थित जग्गामा नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालय र आधुनिक डिपो निर्माणका लागि डीपीआर बनाउन बुधबार सम्झौता भएको छ । एक कार्यक्रमको विच लुम्बिनी प्रदेशिक कार्यालय भलवारी प्रमुख तथा निगमका उपनिर्देशक प्रदीप यादव र केयू कन्सल्टेन्सी विभागका प्रमुख विवेक बरालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । डीपीआरका लागि निगम, भण्डारण क्षमता वृद्धि परियोजना र केयू कन्सल्टेन्सी सेवाबीच रु. १ करोड ९५ लाख ७६ हजार ५ सय ७८ रुपैयाँमा सम्झौता भएको उपनिर्देशक यादवले जानकारी दिए । उपनिर्देशक यादवले अवको ६ महिनाभित्र डीपीआर हस्तान्तरण हुने बताए । काठमाडौं विश्वविद्यालयको विज्ञता यो परियोजनामा प्रयोग गर्न पाउँदा खुसी भएको बताए । काठमाडौं विश्वविद्यालय को डीपीआरअनुसार तयार हुने परियोजन दिगो र आधुनिक सुविधासम्पन्न हुनेमा विश्वस्त रहेको बताए ।
    २१ विगाह जग्गामा आधुनिक डिपो निर्माणका लागि नेपाल आयल निगमले चालु आर्थिक वर्ष २०८१/०८२ को नीति कार्यक्रममा नै बजेट मा नै समावेश गरेको छ । परियोजनाका अनुसार यहाँ आधुनिक डिपो निर्माणसँगै प्रदेशभरको माग धान्ने ठूलो क्षमताको स्टोरेज टंयाक समेत बनाइनेछ ।
    निर्माण सुरु भएको तीन वर्षमा सक्ने गरी करिब रु ३ अर्ब २० करोड रुपैयाँको लागतमा आयल निगमले रोहिणी नदी किनारमा सुविधासम्पन्न आधुनिक डिपो बनाउँदैछ । तीन हजार किलोलिटर क्षमताको तीन ठूला भर्टिकल ट्यांकीमा कूल ९ हजार किलोलिटर क्षमताको डिजेल भण्डारण गृह बन्नेछ । त्यस्तै ७ सय ६० किलोलिटर अटाउने तीनवटा भर्टिकल ट्यांकीमा कूल २ हजार २८० किलोलिटर क्षमताको पेट्रोल भण्डारण गृह र २ सय ५० किलोलिटर क्षमताको दुई वटा भर्टिकल ट्यांकीमा ५ सय किलोलिटरको मट्टितेल भण्डारण गृह बन्नेछ ।

    डिपो स्थानान्तरण गर्नुपर्ने स्थानीयबासीको निरन्तरको माग र बढ्दो पेट्रोलियम पदार्थको खपतलाई सम्बोधन गर्नका लागि डिपो स्थानान्तरण नै सबैभन्दा उपयुक्त विकल्प भएकाले रोहिणी नदी किनारमा आधुनिक डिपो निर्माण गर्न लागिएको उनले बताए ।
    काठमाडौं विश्वविद्यालयका डीन मनिष पोखरेलले निगमले केयूलाई विश्वास गरेको भन्दै खुसी व्यक्त गरे । उनले केयूको इमान्दारिता र मिहिनेतलाई विश्वास गरिदिन आग्रह गरे । केयू कन्सल्टेन्सी विभागका प्रमुख विवेक बरालले निश्चित समयमै काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे ।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation