
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले यसै साता सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएल को ट्रफी सार्वजनिक गरेका छन् ।
सुन्धारा स्थित धरहरा परिसरमा सोमवार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सहभागी ८ टोलीका मार्की खेलाडीका साथ ट्रफी अनावरण गरेका हुन्।
ट्रफीमा कालापत्थरबाट ल्याइएको ढुंगा प्रयोग गरिएको नेपाल क्रिकेट संघ(क्यान)का सचिव पारस खड्काले जानकारी दिए।
पर्वतारोही निमा शेर्पा र मिङ्मा शेर्पाले कालापत्थरबाट ढुंगा ल्याएको खड्का जानकारी दिए। शेर्पाद्वय कार्यक्रम प्रस्तुत भएका थिए।
प्रधानमन्त्री ओलीले नेपाल खेलकुदका लागि महत्त्वपूर्ण दिन रहेको जनाउँदै एनपिएलले खेलकुदमा नयाँ उचाईमा पुर्याउने विश्वास व्यक्त गरे। उनले क्रिकेट युवा पुस्ताको सपना बनेको बताए ।
प्रधानमन्त्री ओलीले सहभागी ८ टोलीका कप्तानहरुलाई अलग अलग बिशेषणसहित प्रशंसा गर्दै सफलताको शुभकामना दिए। उनले एनपिएलले पर्यटन व्यवसायलाई पनि टेवा पुग्ने विश्वास लिएको बताए । उनले युवा प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन एनपिएल प्रभावकारी हुने आशा व्यक्त गरे।
प्रधानमन्त्री ओलीले क्यानलाई महिला एनपिएल आयोजना गर्न सुझाव दिए । सरकारले पर्याप्त लगानी गर्न नसकेको स्वीकार गर्दै त्यसमा आफूलाई नै चित्त नबुझेको बताए ।युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एनपिएलको चर्चा राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय रुपमा पनि चर्चा पाइरहेको बताए । सदस्य सचिव टंकलाल घिसिङले एपिएफको सफलताको शुभकामना दिए ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले एपिएलमा आबद्ध सबैलाई धन्यवाद दिए। कार्यक्रममा क्यान पदाधिकारी एनपिएलका टोलीका मालिकलगायत को उपस्थिति थियो। एनपिएल शनिवार सुरु हुनेछ। उद्घाटन खेल विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच हुनेछ ।