रवि लामिछानेलाई भैरहवा विमानस्थल पुर्‍याइयो, सिधै सरकारी वकिल कार्यालय लगिने

  • बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लिएर पोखराबाट उडेको जहाज भैरहवा विमानस्थलमा अवतरण गरेको छ । सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि पोखरा प्रहरीको हिरासतमा रहेका लामिछानेलाई रुपन्देहीमा बयानका लागि ल्याइएको हो । बुद्ध एयरको नियमित उडानमार्फत उनलाई पोखराबाट भैरहवा ल्याइएको हो ।

    लामिछानेलाई मंगलबार बिहानै भैरहवा ल्याउने योजना रहे पनि भैरहवा विमानस्थलमा प्रतिकूल मौसमका कारण उडान ढिलो भएको हो । लामिछानेमाथि बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना गरेको आरोप छ । लामिछानेसँग रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयले बयान लिने छ । लामिछानेलाई ल्याउने भएपछि बिहानैबाट गौतमबुद्ध विमानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

    लामिछानेलाई ल्याइने भएपछि रास्वपा लुम्बिनी प्रदेशले भैरहवाको बुद्धचोक, लुम्बिनी गेटमा प्रदर्शन थालिसकेका छन् भने विमानस्थलमै पुगेर पनि समर्थकहरुले प्रदर्शन गरिरहेको रास्वपा प्रदेश अध्यक्ष देवराज पाठकले बताए । यता सुप्रिम ऋण तथा बचत सहकारी पीडितहरुले पनि भैरहवामै प्रदर्शनको तयारीका लागि पुगेका छन् । उनीहरुले ११ बजेदेखि प्रदर्शन गर्ने सहकारी पीडित संघर्ष समितिका संयोजक विजय नेपालले जनाए । उनले कसैको समर्थन र विरोधभन्दा पनि आफूहरुले न्यायका लागि विरोध गरेको बताए ।

    रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठौरले विमानस्थलबाट सिधै सरकारी वकिल कार्यालयमा लगेर बयान सुरु गर्ने बताएका छन् । उनका अनुसार सकेसम्म आजै बयान सक्ने तयारी भएपछि पोखराबाट आउँदा नै ढिलाई भएकाले आजै पूरा नहुने भएको छ । लामिछानेलाई बढीमा ३ दिन मात्र रुपन्देहीमा राख्ने प्रहरीको तयारी छ ।

    लामिछानेसहित गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष एवं वर्तमान संरक्षक गितेन्द्रबाबु राईसहित झन्डै ४० जनालाई सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ गरी अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । तीमध्ये लामिछानेसहित १२ जनालाई कात्तिक ८ गते अनुमति दिएको थियो ।

    बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गैरकानुनी रुपमा गोर्खा मिडिया नेटवर्कमा लगेर खर्च गरेको अनुसन्धानमा देखाइएको छ । रास्वपा र सुप्रिम पीडितहरुले भैरहवाकेन्द्रित भएर प्रदर्शन गर्ने तयारी गरेपछि स्थानीय प्रशासनले बुद्धचोक, लुम्बिनी गेट, जिल्ला अदालत र सरकारी वकिल कार्यालय क्षेत्रलाई निषेधित क्षेत्र घोषणाको तयारी गरिरहेको छ ।

    सोमबार दिनभर सुरक्षा संयन्त्रको बैठकले सम्भावित प्रदर्शनको आंकलन र विश्लेषण गरिरहेको र आवश्यकताअनुसार मंगलबार नै निषेधित क्षेत्र घोषणा गर्ने गरी निर्णय भएको सुरक्षा स्रोत बताउँछ । लामिछानेसँगै रूपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएका गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष छविलाल बञ्जाडे जोशीलाई पनि यसअघि नै भैरहवा ल्याएर बयान गरेर कास्कीमै लगिएको छ । विमानस्थलमा राष्ट्रिय झण्डा बोकेका सयौं समर्थकहरुले विमानस्थल बाहिर नाराबाजी गरिरहेका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation