काठमाडौँ,२८ बैशाख। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सो क्रममा उनले नेपाललाई परम्परागत श्रम९आधारित अर्थतन्त्रबाट डिजिटल र प्रविधिमुखी अर्थतन्त्रमा रूपान्तरण गर्ने महत्वाकाङ्क्षी योजनाहरू सार्वजनिक गरेका छन् । सरकारले सुशासन, भौतिक पूर्वाधार र सूचना प्रविधिलाई केन्द्रमा राख्दै नयाँ वित्तीय र प्रशासनिक मोडलहरू पनि घोषणा गरेको छ।
सीमा नाकामा पहिलोपटक ‘अनुहार पहिचान प्रणाली’ सहितको एकीकृत सीमा व्यवस्थापन सूचना प्रणाली जडान गरिने भएको छ। नाकामा हुने अवैध गतिविधि रोक्न ड्रोन र नाइट भिजन क्यामेराको प्रयोग गरी स्वचालित निगरानी पूर्वाधार निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।सडक, रेल, हवाई र जल यातायातलाई एउटै छाताभित्र समेट्न ‘एकीकृत राष्ट्रिय गुरुयोजना’ तयार गरिने भएको छ। काठमाडौँ–केरुङ र काठमाडौँ–रक्सौल रेलमार्गलाई प्राथमिकतामा राख्दै यसको लगानी मोडालिटी तय गरिनेछ। यस्तै, सबै स्थानीय तहलाई १२ महिना चल्ने सडक सञ्जालसँग जोड्ने र काठमाडौँ–तराई फास्ट ट्र्याकको निर्माणलाई तीव्रता दिने सरकारको लक्ष्य छ। आयोजनाबाट प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प दिने नयाँ नीति समेत ल्याइएको छ।वैदेशिक रोजगारीबाट फर्किने नेपालीहरूका लागि सरकारले ‘रिभर्स आप्रवासन’ को एकीकृत प्याकेज घोषणा गरेको छ। फर्किनेहरूलाई कृषि उद्यममा आकर्षित गर्न विशिष्टीकृत उत्पादन क्षेत्रको विकास गरिनेछ। यस्तै, स्टार्टअप नेपाल पोर्टलमार्फत एकै दिनमा कम्पनी दर्ता र बिउ पुँजी उपलब्ध गराउने व्यवस्था मिलाइनेछ। ठुलो लगानी गर्ने विदेशीका लागि ‘लगानी भिसा’को नीति समेत ल्याइएको छ। साथसाथै दलीय गतिविधिमा संलग्न भए कर्मचारीलाई बर्खास्त गर्नेसम्मको नीति समेत सरकारले ल्याएको छ ।
भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै सरकारले सार्वजनिक सेवामा व्यापक सुधारको घोषणा गरेको छ। आयोजना प्रमुखहरूलाई जथाभाबी सरुवा नगर्ने र उनीहरूसँग प्रत्यक्ष कार्यसम्पादन सम्झौता गरिने नीति लिइएको छ। यस्तै, नापी र मालपोत सेवालाई एकीकरण गरी स्थानीय तहबाटै डिजिटल रूपमा सेवा उपलब्ध गराइनेछ।सरकारले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र पूर्वाधार विकासलाई समेत प्राथमिकतामा राख्दै आगामी वर्षभित्र सडक बालबालिकामुक्त नेपाल घोषणा गर्ने, स्वास्थ्य बीमा प्रणाली पुनर्संरचना गर्ने तथा काठमाडौंमा ‘बस र्यापिड ट्रान्जिट’ प्रणाली सुरु गर्ने घोषणा गरेको छ।
पूर्णपाठ:
फाइनल-नीति-तथा-कार्यक्रम-20830128_260511_170827











