बुटवल,२५ बैशाख । अन्तर्राष्ट्रिय रेडक्रस दिवसको अवसरमा “मानवताका लागि एक हौँ” भन्ने मूल नारालाई आत्मसात गर्दै दीप युथ रेडक्रस सर्कलले सुक्का नगर क्षेत्रमा सरसफाई तथा सहयोग संकलन कार्यक्रम सम्पन्न गरेको छ। समुदायमा स्वच्छता तथा मानवीय सेवाको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा शिक्षक, विद्यार्थी तथा विद्यालय परिवारको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रम अन्तर्गत सडक, सार्वजनिक स्थल तथा वरपरका क्षेत्रहरू सरसफाई गरिएको थियो। साथै आर्थिक रूपमा कमजोर तथा आवश्यकतामा रहेका व्यक्तिहरूलाई सहयोग पुर्याउने लक्ष्यसहित सहयोग संकलन पनि गरिएको जनाइएको छ।
कार्यक्रमले “मानवताका लागि एक हौँ” भन्ने सन्देशलाई व्यवहारमा उतार्दै समुदायमा सहकार्य, सद्भाव र सेवाभावको भावना विकास गर्न योगदान पुर्याएको सहभागीहरूले बताएका छन्।











