बुटवल,२३ चैत । श्री सशक्त बचत तथा सहकारी संस्था लिमिटेड बुटवलले आफ्ना सदस्यलाई लक्षित गर्दै पेन्सन वितरण योजना (कार्यक्रम) सुरु गरेको छ । सहकारी क्षेत्रमै नयाँ अभ्यासका रूपमा हेरिएको यस योजनामा २० बर्ष देखि ६० बर्ष सम्मको शेयर सदस्य सहभागि हुन पाउँछन् ।
सोमबार सहकारीले एक कार्यक्रमको आयोजना गरी पहिलो पटक ६० वर्षीय सदस्य रामप्रसाद न्यौपानेलाई मासिक १ हजार रुपैयाँका दरले पेन्सन प्रदान गर्दै यो योजना सुरु गरेको हो । सहकारी संस्थाका अध्यक्ष महेशप्रसाद पोखरेलले सामाजिक सुरक्षा सँग जोड्ने उद्देश्यले पेन्सन योजना सुरु गरेको बताउनुभयो ।
सहकारीले कार्यविधिनै बनाएर १ देखि ५ हजार सम्म पेन्सन दिन सक्ने योजना बनाएका छन् । पेन्सन बचत संकलनमा १ लाख २६ हजार ५ सय जम्मा भएकाले मासिक १ हजार, २ लाख ५३ हजार संकलन गर्नेलाई २ हजार, ३ लाख ७९ हजार ५ सय संकलन गर्नेलाई ३ हजार, ५ लाख ६ हजार संकलन गर्नेलाई ४ हजार र ६ लाख ३२ हजार ५ स य संकलनगर्नेलाई मासिक ५ हजार रुपैया पेन्सन दिने अध्यक्ष पोखरेलले बताउनुभयो । संकलित रकम पेन्सन प्राप्त गर्दा कम भने नहुने उहांको भनाई छ । ‘सदस्यहरूको दीर्घकालीन हितलाई ध्यानमा राख्दै यस्तो कार्यक्रम ल्याइएको हो’ अध्यक्ष पोखरेलले भन्नुभयो ।
सोही कार्यक्रममा कार्यालय व्यवस्थापन तथा लेखासम्बन्धी तालिमसमेत सञ्चालन गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य ईश्वर चन्द्र भट्टराईले गर्नुभएको थियो भने सञ्चालन सचिव जीवलाल पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा, सल्लाहकार एवं पूर्व अध्यक्ष कृष्ण चौहान क्षेत्री, संस्थापक अध्यक्ष प्रकाश खनाल, संस्थापक सदस्य कृष्ण प्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै राष्ट्रिय सहकारी बैंकका कार्यालय प्रमुख नारायण बेल्बासेले सहकारी व्यवस्थापन र लेखासम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।
हाल १९ करोड रुपैयाँ कुल पूँजी रहेको उक्त सहकारीमा ९ सयभन्दा बढी सदस्य आबद्ध छन । सहकारीले आगामी दिनमा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमलाई थप विस्तार गर्ने जनाएको छ ।











