स्काउटमा आवद्ध विद्यालयका विद्यार्थीहरुलाई ३ दिने स्काउट सहासिक क्रियाकलाप

  • पाल्पा,२३ चैत । रामपुर नगरपालिका भित्रका स्काउटमा आवद्ध विद्यालयका विद्यार्थीहरुलाई ३ दिने स्काउट सहासिक क्रियाकलाप आइतवार देखि शुरु भएको छ ।विपदको समयमा प्रतिकार्य र सहयोग गर्ने क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । स्थानीय स्काउट कार्यालय रामपुरको आयोजना र रामपुर नगरपालिकाको आर्थिक सहयोगमा सहासिक क्रियाकलाप भएको हो । ३ दिने कार्यक्रमको उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले विपदको समयमा समस्याको समाधान र राहतका लागि स्काउटले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो। उहाँले जुनसुकै विपदको समयमा अर्धसैनिक शैलीमा अनुशासित र मर्यादित रूपमा काम गर्दै समस्या समाधानमा अग्रसर हुने जुझारु टिम स्काउट भएको उल्लेख गर्नुभयो। नगर प्रमुख थापाले विद्यालयमा सैद्धान्तिक शिक्षासँगै स्काउटले विद्यार्थीलाई व्यवहारिक शिक्षा प्रदान गर्ने बताउनुभयो। मानव जीवनमा व्यवहारिक शिक्षा अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै यसले सकारात्मक सोच र संस्कार विकास गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो। उहाँले विगतमा स्काउटका गतिविधि सीमित रहे पनि पछिल्लो समय रचनात्मक कार्यक्रममार्फत चलायमान हुँदै गएको बताउनुभयो।
    स्काउटमार्फत विद्यार्थीलाई विपद व्यवस्थापन तथा समस्या समाधानका लागि सक्षम बनाउन रामपुर नगरपालिका भित्रका सबै विद्यालयमा स्काउट कार्यक्रम लागू गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। नगर प्रमुख थापाले विपदको समयमा सहयोग र समस्या समाधान गर्न सक्ने गरी उच्च मनोबलका साथ साहसिक क्रियाकलापमा सक्रिय रूपमा सहभागिता जनाउन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो। कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले स्काउट समाज र विद्यार्थीका लागि आवश्यक कार्यक्रम भएकाले नगरपालिकाले यसलाई महत्वका साथ प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले स्काउटले विद्यार्थीहरुलाई सहासी, अनुशासित र ऊर्जाशील बनाउँदै समाजप्रति जिम्मेवार बनाउने उल्लेख गर्नुभयो । साथै उहाँले ३ दिने तालिममा सहभागी विद्यार्थीहरुलाई साहसका साथ सुरक्षित तरिकाले साहसिक क्रियाकलापमा सहभागी हुन आग्रह गर्नुभयो । कार्यक्रममा स्काउटका राष्ट्रिय प्रशिक्षक सत्यनारायण शाहीले तालिमका क्रममा सिकाइने १० वटा गतिविधि विद्यार्थीहरुले राम्रोसँग सिकेमा विपद्को समयमा राहत तथा उद्धार कार्यमा सहयोग पुग्ने र सम्भावित क्षति कम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो ।स्थानीय स्काउट रामपुरका प्रमुख आयुक्त सागर श्रेष्ठको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । स्थानीय स्काउट रामपुरका सदस्य सरस्वती श्रेष्ठको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन सदस्य पुष्पराज ढकालले गर्नु भएको थियो । ३ दिन सम्म चल्ने सहासिक क्रियाकलापको समापन यही चैत्र २४ गते गरिने र उक्त दिन स्काउटको क्याम्प फायर हुने स्थानीय स्काउट रामपुरका सदस्य सचिव विकल काफ्लेले जानकारी दिनुभयो । रामपुर नगरपालिका वडा नं.7 बहखोलामा भएको ३ दिने क्रियाकलापमा ओमेगा जम्प, मङ्की ब्रिज, कमाण्डो ब्रिज, नेट क्रसिङ, भर्टिकल क्लाईम्बिङ, रक क्लाईम्बिङ, र्‍याप्लिङ डाउन, सुपरम्यान जम्प, टायर क्रसिङ, र रोप क्रसिङका सहासिक क्रियाकलाप हुने छ । रामपुर नगरपालिकाभित्रका ११ विद्यालय ३ सय ३० जना विद्यार्थीहरुको सहभागिता रहेको सहासिक क्रियाकलापको सहजिकरण स्काउटका राष्ट्रिय प्रशिक्षक सत्यनारायण शाही र रोजीना शाही सहित १६ जनाको टोलीले गर्नु भएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation