‘आँखादान’ सम्बन्धमा यु.सि.यम.यस. मेडिकल कलेज, लुम्बिनी नेत्रालय प्रा.लि. र नेपाल आँखा बैंक विच सम्झौता

  • भैरहवा ,१८ चैत ।आँखादान सम्बन्धमा यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवा, लुम्बिनी नेत्रालय प्रा.लि., भैरहवा र नेपाल आँखा बैंक (तिलगंगा आँखा अस्पताल), काठमांडौ विच आज त्रिपक्षिय सम्झौता सम्पन्न भएको छ । सम्झौता बमोजिम अब कुनै पनि व्यक्तिले मृत्यु पछि आफ्नो स्वेच्छाले आँखाको नानी (कोर्निया) दान गर्न चाहेमा त्यो सुविधा यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवामा गर्न सक्नेछ ।‘आँखादान महादान’ भएकोले यस प्रकारको दानबाट दृष्टिविहिन व्यक्तिलाई नयाँ जीवन तथा उज्यालो संसार देखाउने एउटा महान कार्य पनि हो । यो कार्य मानिसको मृत्युपछि मात्र गरिने, आँखाको पूरै डल्लो दान नभई नानी मात्र दान गर्ने प्रक्रिया हो र आँखादान गर्दा अनुहार कुरुप हुँदैन । यस प्रकारको दान जुनसुकै उमेर समुह, लिङ्ग वा रगत समुह मात्र नभई चश्मा लगाएका, मोतीविन्दु वा मधुमेह भएका व्यक्तिले पनि आँखा दान गर्न सक्दछ । सम्झौता अनुरुप आँखा दानको सम्पुर्ण प्रक्रियाको व्यवस्थापन, स्वास्थ्यकर्मीलाई शिक्षा, तालिम, प्राविधिक विषय, परामर्श, आवश्यक कागजी प्रक्रिया, जनचेतनामुलक सामाग्री सम्बन्धमा लुम्बिनी नेत्रालय प्रा.लि.ले र कोर्नियाको संकलन, परीक्षण, सञ्चय, व्यवस्थापन, गुणस्तर कायम, वितरण तथा आवश्यक तालिमको व्यवस्था नेपाल आँखा बैंकले गर्नेछ ।
    सम्झौता कार्यक्रममा यु.सि.यम.यस. शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस., यु.सि.यम.यस.का प्राचार्य प्रा.डा.लक्ष्मी पाठक, यु.सि.यम.यस.का मेडिकल सुपरिन्टेन्डेन्ट प्रा.डा.साधन मुखी, लुम्बिनी नेत्रालयका अध्यक्ष सनत कुमार श्रेष्ठ, प्रबन्ध निर्देशक हिरा बहादुर शाह, तिलगंगा आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.रिता गुरुङ्ग, नेपाल आँखा बैंकका मेडिकल डायरेक्टर डा.लिना बज्रचार्यको उपस्थिति रहेको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation