काठमाडौँ,,२८ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले नेपालका औषधि उद्योगलाई आत्मनिर्भर मात्र नभई निर्यातमुखी बनाउनुपर्ने बताएकी छन्।
नेपाल औषधि उत्पादक सङ्घले आजदेखि सुरु गरेको १०औँ नेपाल फर्मा एक्स्पोको बिहीबार आयोजित कार्यक्रममा मन्त्री डा गौतमले सरकार, निजी क्षेत्र र सरोकारवालाबीच समन्वय गरेर काम गर्न सके नेपालको औषधि उद्योगलाई आत्मनिर्भर मात्र नभई निर्यातमुखी बनाउन सकिने बताइन् । नेपालको औषधि उद्योगले पछिल्ला वर्षमा उल्लेखनीय प्रगति गरे पनि अझै धेरै काम गर्न बाँकी रहेको उनले बताइन् ।
मन्त्री डा. गौतमले कच्चापदार्थको मूल्य बढे पनि नेपाली औषधि कम्पनीले पहिलाकै मूल्यमा औषधि बेच्नुपर्ने बाध्यता रहेको बताइन् । उनले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पनि नेपालको औषधि नियमन प्रणालीलाई हालको अवस्थाबाट अझ उच्चस्तरमा पुर्याउन सुझाव दिएको उल्लेख गर्दै त्यसअनुसार सुधारका काम अघि बढाइएको जानकारी दिइन् । नेपालको औषधि उत्पदान बढाउनुपर्ने आवश्यकता रहेको उहाँले औँल्याइन् । नेपालमा हाल बजारमा २४ हजार प्रकारका औषधि उपलब्ध छन् तर परीक्षण गर्ने क्षमता भने वार्षिक करिब ६४० प्रकारमा मात्र सीमित छ । कच्चापदार्थ गुणस्तरीय ल्याउन सके मात्र औषधिको गुणस्तर बढ्ने मन्त्री डा गौतमले बताइन् ।स्वास्थ्य सचिव डा. विकास देवकोटाले स्वदेशी औषधि उत्पादन बढाउने, औषधिको उपलब्धता सुनिश्चित गर्ने र औषधिमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्य सरकारको नीति रहेको बताए।











