बर्दघाट,२५ फागुन । बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका- २ दाउन्नेस्थित सडक भासिएको स्थानमा वर्षाका कारण सडक सतह चिप्लो भएपछि आज बिहानदेखि सवारी आवतजावतमा समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए। “बिहान करिब १० बजेपछि सडक चिप्लो भएसँगै सवारीसाधन चलाउन कठिनाइ भएको छ”,उनले भने,“उक्त स्थानमा करिब १०० देखि १५० वटा सवारीसाधन दुवैतर्फ लामबद्ध अवस्थामा रोकिएका छन् ।” सडक आयोजनाले सडक खुलाउने प्रयास गरिरहेको प्रहरी उपरीक्षक खड्काले खबर खातालाई जानकारी दिए ।











