पाल्पा,३ फागुन । रामपुर नगरपालिका–५, बेझाँडमा शिवालय मन्दिर शिलान्यास गरिएको छ । एक वर्ष अघि भत्किएको ४२ वर्ष पुरानो शिवालय मन्दिर साविकको मन्दिर भएको स्थान भन्दा उत्तर तर्फको खाली स्थानमा निर्माण सुरु गरिएको हो ।
आइतबार महाशिवरात्री अवसरमा वैदिक विधि पूर्वक शिलान्यास गरिएको हो । पुरानो शिवालय मन्दिर भत्किए पछि नगरपालिकाले यस अघि सरोकारवाला संग छलफल गरेको थियो । छलफल पश्चात सुझावको आधारमा नगरपालिकाले उपयुक्त स्थान छनौट गरी राधाकृष्ण मन्दिरको आडैमा निर्माण सुर गरेको हो । वैदिक विधि पूर्वक मन्दिरको शिलान्यास गर्नुहुँदै रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले पुरानो शिवालय मन्दिर निर्माणको लागि नगरपालिकाले चालु आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गरी छलफल गरेर निर्माण थालेको बताउनुभयो । सरोकारवालाको राय अनुसार उपयुक्त स्थानको छनौट गरेर शिवालय मन्दिर निर्माण गर्न लागिएको बताउनुभयो ।
भविष्यमा मन्दिरलाई कुनै असर नपरोस् भन्ने ध्येयका साथ साविकको स्थान भन्दा केही पर मन्दिर निर्माण गर्न लागिएको जानकारी दिनुभयो । शिव मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष दयाराम गैरेले नगरपालिका बाट विनियोजन भएको १६ लाख र जनश्रमदान २ लाख ८३ हजार ९०९ रुपियाँ गरी १८ लाख ८३ हजार ९०९ रुपियाँ लागतमा मन्दिर निर्माण हुने बताउनुभयो ।
हरेक वर्ष शिवरात्रीमा भक्तजनहरुको विशेष उपस्थिति रहँदै आएको शिवालय मन्दिर भत्किए पनि धार्मिक अस्तित्व जोगाई राख्नका लागि आइतबार पनि पूजालाई निरन्तरता दिएको थियो । साविक मन्दिर रहेको स्थानमा रुद्री पूजा, हवन पूजा लगायतका कार्य भएको शिव मन्दिर निर्माण उपभोक्ता समितिका सचिव सूर्य प्रसाद श्रेष्ठले बताउनुभयो । शिलान्यास कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा, मन्दिर निर्माण समितिका पदाधिकारी, स्थानीयहरुको सहभागीता रहेको थियो । वि.सं.२०३९ सालमा निर्माण सुरु गरिएको मन्दिरमा २०४२ साल देखि पूजा हुँदै आएको थियो । त्यस पश्चात रामपुर होटल व्यवसायी संघले २०६२ देखि जिर्णउद्धार गरी थप संरचनाहरु निर्माण गरेको थियो । २०७२ को भुकम्पले चर्किएर चुहिने भएको मन्दिर वर्षाले भत्किएको थियो ।











