काठमाडौँ,२३ माघ । सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ
सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले विशेष अदालतले यसअघि गरेको थुनामा राख्ने निर्णयलाई सदर गरेको हो। यससँगै अधिकारीलाई धरौटी वा रिहा नगरी मुद्दाको टुंगो नलागेसम्म थुनामै राखिने भएको छ।
यसअघि मंसिर २१ गते विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उक्त आदेशविरुद्ध अधिकारीले पुस २१ गते सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलिनचोक हेलिपोर्ट निर्माणमा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७७ पैसा बराबरको भ्रष्टाचार भएको ठहर गर्दै मुद्दा दायर गरेको हो।











