नगरस्तरीय असल नेतृत्व वक्तृत्वकला प्रतियोगिताको छनौट

  • तिलोत्तमा,१० माघ । शुभयात्रा नेपाल रूपन्देहीले आयोजना गरेको तिलोत्तमा नगरस्तरीय असल नेतृत्व वक्तृत्वकला प्रतियोगिताको छनौट चरण अन्तर्गत वडानम्बर १६ को छनौट कार्यक्रम शुक्रबार सम्पन्न भयो । नगरभित्र बसोबास गर्ने सत्र वटै वडाका मा।वि। तहका विद्यार्थीबीच “असल नेतृत्वमा आधारित” प्रतिस्पर्धा गराउन गत कार्तिक २९ गते वडानम्बर १ बाट शुरू गरिएको प्रारम्भिक प्रशिक्षण सहितको छनौट कार्यक्रम शुक्रबार वडानम्बर–१६ मा गरिएको जिल्ला अध्यक्ष मुक्तिनाथ गैह्रेले जानकारी दिनुभयो ।
    तालिम सहितको प्रतियोगिता उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका वडानम्बर १६ का वडाध्यक्ष झविलाल भूषालले आफ्ना वडाका किशोर–किशोरीका राय बुझ्न पाइने कार्यक्रम सञ्चालन भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
    शुभयात्रा नेपाल कोटहीमाई समितिका संयोजक बालकृष्ण न्यौपानेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै संस्थाका केन्द्रीय अध्यक्ष मधुसुदन गैह्रेले पञ्चसूत्रीय योजना सँगै अन्य रचनात्मक क्रियाकलापमा संस्था गतिशील भएको बताउनुभयो । उहाँले नेपालका ३ वटा देवभूमिक्षेत्र, ७ वटा गौ–चरण क्षेत्र, क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र, फोहरमुक्त नेपाल र पर्यटनका पञ्चसूत्रीय योजनामा शुभयात्रा नेपाल केन्द्रित भएको जानकारी दिनुभयो ।
    कार्यक्रममा, संस्थाका जिल्ला अध्यक्ष एवम् विश्व वक्तृत्वकला प्रतियोगितामा सान्त्वना भएका जेसीजका अन्तर्राष्ट्रिय सहजकर्ता मुक्तिनाथ गैह्रेले सहभागीलाई प्रतियोगिता अघि प्रशिक्षण समेत दिनुभएको थियो । त्यसैगरी, प्रतियोगिताको प्रस्तुतिपश्चात् मौखिक र लिखित रूपमा सबै सहभागीलाई सुझाव समेत दिइएको निर्णायक मण्डलका संयोजक बेद प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
    प्रारम्भिक प्रशिक्षण एवम् छनौट प्रतियोगितामा पहिलो हुँदै राममणि बहुमुखि क्याम्पसका प्रतिभा न्यौपाने नगरस्तरीय अन्तिम प्रतियोगितामा प्रवेश गर्नुभएको छ । प्रतियोगितामा दोस्रो हुने लिटिल स्टार ई।बो। स्कुलका सुबोध सुबेदी र तेस्रो हुने लिटिल स्टार ई।बो।स्कुलका समिप बस्याल पुरस्कृत हुनुभएको निर्णायक केशवराज पन्थले जानकारी दिनुभएको थियो भने निर्णायक राम प्रसाद अर्यालले भाग लिनु भएका उत्साहप्रद मन्तब्य राख्नु भएको थियो ।
    तिलोत्तमा १६ को पवित्रा आमा समुह भवनमा वालकृष्ण न्यौपाने सभापतित्व र लेखनाथ पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा स्वागत मन्तब्य बालकृष्ण बस्यालले गर्नु भएको थियो भने वडा सदस्यहरुः माया चौधरी, हुम बहादुर गाहा, जानकी सुनार, शोभा खाती,स्थानीय टोल विकास संस्थाका अध्यक्षहरूः मिन बहादुर आले, बालकृष्ण बस्याल,महेन्द्र पोख्रेल, हरि प्रसाद बस्याल, कृष्ण बहादुर थापा, ऋषिराम गैरे, बालमैत्री सहजकर्ता चन्द्रकला घिमिरे, तिलोत्तमा नगर संयोजक ईश्वरी प्रसाद पाण्डे,जिल्ला सदस्य दिपा पाण्डे गौतम,आजिवन सदस्य पुनम पौडेल, आजिवन सदस्य दोलराज गैहे्र, हरीकला भण्डारी ९९४ बार्षिय जेष्ठ नागरीक लगायतको उपस्थिति रहेको थियो ।
    फागुन ७ गते अन्तिम प्रतियोगिता सञ्चालन गरिने असल नेतृत्व वक्तृत्वकला प्रतियोगिताको छनौट चरण अन्तर्गत वडानम्बर १७ को छनौट कार्यक्रम १७ को वडा कार्यालयमा गरिने गंगोलिया समितिका संयोजक धनपति अधिकारीले जानकारी दिनुभयो । साथै माघ १० गते बिहान ८बजे शुभयात्रा नेपाल शुद्धोदन गाँउपालिका प्रथम अधिवेशन हुने कार्यलय सहयोगी खिम कुमारी बस्यालले जानकारी दिनुभयो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation