बुटवल, ८ माघ । रोट्रयाक्ट क्लब अफ सेन्ट्रल रुपन्देहीको वर्ष २०२५/२६ का लागि नवनियुक्त कार्यसमितिको पदस्थापन तथा नेतृत्व हस्तान्तरण समारोह भव्यताका साथ सम्पन्न भएको छ। बुटवलको कालिका नगरस्थित महाराजा रिसोर्टमा आयोजित विशेष समारोहबीच क्लबको सातौँ पदस्थापन कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रमको विधिवत् उद्घाटन रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट रोट्रयाक्ट प्रतिनिधि (डिआरआर) दिनेश गैरेले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। पहिलो सत्रको सञ्चालन वर्ष २०२४/२५ की सचिव निशाना पोखरेलले गर्नुभएको थियो। सो अवसरमा निवर्तमान अध्यक्ष युकेसमान ज्ञवालीले आफ्नो कार्यकालमा सम्पन्न गतिविधि तथा उपलब्धिहरू समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। उहाँले कार्यकालभर सहयोग गर्ने डिस्ट्रिक्ट अफिसियलहरू, क्लब सदस्यहरू तथा परिवारजनप्रति आभार व्यक्त गर्दै बोर्ड सदस्यहरू र आफ्ना आमाबुवालाई मायाको चिनोसहित सम्मान गर्नुभयो।
दोस्रो सत्रको सञ्चालन नवनियुक्त सचिव उपेन्द्र भट्टराईले गर्नुभएको थियो। प्रमुख अतिथि डिआरआर दिनेश गैरेले नवनियुक्त अध्यक्ष विजय अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराउनुका साथै अध्यक्षको कलर, चार्टर सर्टिफिकेट हस्तान्तरण गर्नुभयो। शो पश्चात् अध्यक्ष अधिकारीले २० सदस्यीय कार्यसमितिलाई शपथ गराउनुभयो। साथै पाँच जना नयाँ साधारण सदस्यहरूलाई जेडआरआर डा. अविष्कार पराजुलीले शपथ गराउनुभएको थियो। उपस्थित डिस्ट्रिक्ट अफिसियलहरूले नयाँ सदस्यहरूलाई रोट्रयाक्ट पिन लगाइदिएर स्वागत गर्नुभयो।
नवनियुक्त अध्यक्ष विजय अधिकारीले आफ्नो कार्यकालका लागि ‘Serve to Soar’ र ‘Lead, Serve, Inspire’ भन्ने थिम सार्वजनिक गर्दै कार्ययोजना प्रस्तुत गर्नुभयो। उहाँले क्लबले विगतमा भोगेका चुनौतीहरूलाई पार गर्दै आगामी कार्यकालमा संस्थालाई नयाँ उचाइमा पुर्याउने र समाजमा प्रभावकारी तथा दिगो सेवा कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि डिआरआर दिनेश गैरेले रोट्रयाक्ट क्लब अफ सेन्ट्रल रुपन्देहीको विकासका लागि डिस्ट्रिक्ट सधैँ साथमा रहने विश्वास व्यक्त गर्नुभयो। साथै आईपीडिआरआर विक्रम क्षेत्री, डिआरआर इलेक्ट प्रकाश शर्मा लगायतका विशिष्ट अतिथिहरूले पनि नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
सो अवसरमा कार्यक्रमका प्रायोजकहरू, कार्यक्रम संयोजकद्वय निशा पाण्डे र राजेन्द्र मल्ल तथा विशिष्ट अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रममा रोट्रयाक्टका विभिन्न तहका डिस्ट्रिक्ट अफिसियलहरू, सञ्चारकर्मी, नवनियुक्त अध्यक्षका अभिभावक, दिदी–भिनाजु तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।











