बुटवल,२९ पुस । नेपाल होस्टल एशोसियसन रुपन्देहीको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनले सचिन श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । नौ सदस्यीय समितिको उपाध्यक्षमा रोशन न्यौपाने सचिवमा भरत ओली कोषाध्यक्षमा आशा खनाल सहसचिवमा सरिता न्यौपाने र सदस्यहरुमा भागिरथ घिमिरे, हरि न्यौपाने, प्रदीप कार्की र सोभा न्यौपाने निर्वाचित भएका छन् ।
एशोसियसनको साधारण सभामा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका उपमेयर सावित्रादेवी अर्यालले सबै व्यवसायिक संस्थाहरु दर्ता भएर कानुनी रुपमा आउन आग्रह गर्दै गैरकानुनी रुपमा अगाडि नबढ्न आग्रह गरेकी थिइन् । होस्टल एशोसियन प्रदेश सरकार मातहत रहने भएकाले स्थानीय सरकारले यसलाई नियमन गर्न नसकेको उनको भनाइ थियो । 
एशोसियसनका केन्द्रीय अध्यक्ष सुनिता लाकौलले स्थानीय सरकारलाई कानुनी प्रकृया पुराएर दर्ता तथा नियमन प्रकृयालाई अघि बढाउन आग्रह गरिन् । उनले स्थानीय सरकारले नै व्यवसायमैत्री वातावरण बनाउनुपर्ने सुझाव स्थानीय सरकारलाई दिएकी थिइन् ।
अध्यक्ष संगिता पौडेलको अध्यक्षता तथा सचिव रोशन न्यौपानेको संचालनमा भएको शुभारम्भ कार्यक्रममा एशोसियसनका केन्द्रीय उपाध्यक्ष नरेन्द्र बोहोरा, महिला उपाध्यक्ष जया पौडेल, रुपन्देही जिल्लामा सर्वप्रथम हास्टेलको अवधारणा ल्याएरर होस्टल संचालन गर्ने पहिलो संचालक निरु ब्रजाचार्यलगायतले सेवामूलक व्यवसायलाई सोही आधारमा संचालन गर्नुपर्ने र नियामक निकायले यसलाई नियमित अनुगमन गरिरहनुपर्ने जनाएका थिए ।
नवनिर्वाचित अध्यक्ष सचिन श्रेष्ठका अनुसार रुपन्देहीमा ४० वटा जति दर्ता भएका होस्टलहरु भएकोमा ३५ वटा यो संस्थामा आवद्ध छन् तर दर्ता नै नभएका त्यतिकै संख्यामा चलिरहेका छन् ।
उनका अनुसार विद्यार्थी तथा विभिन्न क्षेत्रमा काम गरेर बस्नेहरुलाई होस्टलमा पारिवारिक वातावरणमा राख्ने गरिन्छ । यहाँ धेरैजसो दुर्गम क्षेत्रका विद्यार्थीहरु यसरी बस्ने गरेका छन् । अहिले दर्ता भएका यी संस्थाहरुमा ३ सयभन्दा बढी विद्यार्थीहरु रहेका छन् । काठमाडौंमा स्थानीय सरकारले नै यसको कानुन बनाएर नियमन गरेपनि यहाँ त्यो प्रकृया अघि बढेको छैन । व्यवसायीहरुले यसको लागि पटक पटक आग्रह गरेपनि त्यो कानुन स्थानीय सरकारले बनाउन नसकेको जनाएका छन् ।











