काठमाडौँ,२७ पुस । नेपाली काँग्रेसमा संस्थापन पक्षको असहमतिबीच आइतबारदेखि विशेष महाधिवेशन पक्षधरको आह्वानमा विशेष महाधिवेशन सुरु हुँदैछ ।
यही पुस २७ र २८ गते हुने उक्त विशेष महाधिवेशनको काठमाडौँस्थित भृकुटीमण्डपमा आइतबार दिउँसो १:०० बजे उद्घाटन हुने तय भएको छ । उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने गरी मञ्च निर्माण गरिएको छ ।
त्यसैगरी मञ्चको अगाडि खुला चौरमा भने छ हजारभन्दा बढी कुर्सीको व्यवस्थापन गरिएको विशेष महाधिवेशनका लागि गठन गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले जानकारी दिए । मञ्च वरिपरि काँग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको उनले बताए ।











