रामपुर नगरपालिकाले जेष्ठ नागरिकहरुको लागि रामघाट धाममा जेष्ठ नागरिक स्कुल सञ्चालनमा ल्यायो

  • पाल्पा ,२४ मंसिर ।रामपुर नगरपालिकाले जेष्ठ नागरिकहरुको लागि रामघाट धाममा जेष्ठ नागरिक स्कुल सञ्चालनमा ल्याएको छ । पाका पुस्ताको अनुभव र ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्ने लक्ष्यका साथ नगरपालिकाले रामपुर–५ रामघाट धाममा स्कुल स्थापना गरी सञ्चालनमा ल्याएको हो । स्कुल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गरी नगरपालिकाले बुधबार देखि स्कुल सञ्चालन गरेको हो । जेष्ठ नागरिक स्कुल शुभारम्भ कार्यक्रम रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितको अध्यक्षता र नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको हो । नगर प्रमुख थापाले जेष्ठ नागरिकहरुको ज्ञान र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्नुका साथै उहाँहरुलाई सम्मान सहितको सक्रिय जीवन जिउने वातावरण निर्माण गर्न जेष्ठ नागरिक स्कुल सञ्चालनमा ल्याएको बताउनुभयो । रोजगारीको शिलशिलामा सन्तानहरु परदेशमा हुँदा जेष्ठ नागरिकहरुको दैनिकीमा परेको समस्यालाई मध्यनजर गर्दै उहाँहरुमा खुशी ल्याउन जेष्ठ नागरिक स्कुलको अवधारणा अघि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, “सन्तानहरु रोजगारी तथा विभिन्न शिलशिलामा घर भन्दा बाहिर हुँदै गर्दा जेष्ठ नागरिकहरु निरस जीवन जिउनु पर्ने बाध्यता छ । आफ्‌ना दौतरी संग भलाकुसारी गर्दै अनुभव र ज्ञान नयाँ पुस्तामा बाँड्ने उद्देश्यका साथ स्कुल स्थापना गरेका हौं ।” पाकापुस्तालाई आफ्ना दौतरीसँग दिन बिताउने वातावरण स्कुलले प्रदान गर्नेछ । उहाँले परम्परागत संस्कार र संस्कृतिको संरक्षण गर्नु मुख्य उद्देश्य रहेको बताउनुभयो । जेष्ठ नागरिकहरुलाई धार्मिक प्रवचन संगै फुर्सदको समयमा बात्ती काट्ने, दुना टपरी बनाउने लगाएतका वातावरण निर्माण संगै बजारीकरणका लागि प्रबन्ध मिलाईएको छ । उपप्रमुख बालकुमारी थापाले ‘पुस्तान्तरण सिप, हस्तान्तरण केन्द्र’ भन्ने अवधारणका साथ स्कुलको सुरुवात गरिएको बताउनुभयो । जेष्ठ नागरिक स्कुल भित्र नगर भित्रका विद्यार्थीलाई अध्ययनका लागि व्यवस्था समेत मिलाईएको छ । उहाँले स्कुलको दिगो सञ्चालन तथता व्यवस्थापनका आवश्यक साथ र सुझाव प्रदान गर्न आग्रह गर्नुभयो ।

    प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले नगरपालिकाले स्कुल सञ्चालनका लागि कार्यविधि निर्माण गरी आवश्यक बजेटको समेत व्यवस्था गरेको बताउनुभयो । जेष्ठ नागरिकलाई आउन र जानका लागि बस सेवा समेत सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । कार्यक्रममा रामपुर–५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले नयाँ पुस्तामा सिप पुस्तान्तरणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । रामपुरको पहिचानमा थप टेवा पुग्ने बताउनुभयो । रामपुर नगरपालिकाका सल्लाहाकार सन्दीप रानाले देश मै पहिलो पटक रामपुर नगरपालिकाले नमूना अभ्यास गरेको बताउनुभयो । जेष्ठ नागरिक स्कुलले जीवनका अनुभवलाई आपसमा साटासाट गर्नुका साथै समाजको मौलिकपनलाई पनि जीवन्त राख्न महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो । नयाँ पुस्ता पाठ्यपुस्तकको ज्ञान प्राप्त गरे पनि व्यवहारिक र संस्कारयुक्त शिक्षा बाट बञ्चित भैरहेको बताउनुभयो । जेष्ठ नागरिक संघ पाल्पाका अध्यक्ष देवराज ढकालले जेष्ठ नागरिकलाई उचित सम्मान प्राप्त नभैरहेको सन्दर्भमा पाठशाला स्थापनाले जेष्ठ नागरिकको उचित सम्मानमा महत्वपूर्ण टेवा दिएको बताउनुभयो । स्कुल सञ्चालनमा सबैको साथ र सहयोग महत्वपूर्ण रहने बताउनुभयो । रामपुर नगरपालिका सल्लाहाकार विष्णु माया ढकालले सन्तान घर बाहिर हुँदा हुने पिडा भुलाउन स्कुलले सहयोग गर्ने बताउनुभयो । उहाँले नैतिक शिक्षा वर्तमान आवश्यकता भएको समेत बताउनुभयो । नेपाली कांग्रेस रामपुर नगर समितिका सभापति नेत्र प्रसाद भट्टराईले जेष्ठ नागरिक खुशी बनाउन नगरपालिकाले चालेको कदमको प्रसंशा गर्नु भएको थियो । नेकपा एमाले रामपुर नगर कमिटी सचिव लोकनाथ भट्टराईले जेष्ठ नागरिक स्कुल देश कै नमुनाको रुपमा स्थापना भएको बताउँदै उद्देश्य प्राप्तिको शुभकामना दिनुभयो । नेपाली कम्युनिष्ट पार्टी नेकपा रामपुर कार्यदलका सदस्य कमल सेनले निरस जीवन विताई रहनु भएका जेष्ठ नागरिकहरुको लागि नगरपालिकाले महत्वपूर्णकार्यगरेको बताउनुभयो । राष्ट्रिय जनमोर्चा रामपुर नगर अध्यष राम प्रसाद गैरेले यस किसिमको अभ्यास देशै भर हुनु आवश्यक रहेको बताउनुभयो । जेष्ठ नागरिक स्कुलका लागि आवश्यक भौतिक संरचना निर्माणमा सङ्घ, प्रदेश, स्थानीय सरकार एक करोड २६ लाख भन्दा बढी खर्च भएको व्यवस्थापन समिति अध्यक्ष बुद्धि प्रकाश रेग्मीले जानकारी दिनुभयो । साथै विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले पनि सहयोग गर्दै आउनु भएको बताउनुभयो । जेष्ठ नागरिक स्कुल सञ्चालनका लागि आवास, जेष्ठ नागरिक केन्द्र र आचार्य निवास सहित तीन वटा भवन संगै प्रतिक्षालय निर्माण गरिएको छ । साथै परम्परागत सामग्रीहरु ढिँकी, जाँतो समेत निर्माण गरिएको छ । जेष्ठ नागरिक स्कुलमा तीन सय भन्दा बढी जेष्ठ नागरिकहरुले नाम दर्ता गरिसक्नु भएको जेष्ठ नागरिक संघ रामपुरका नगर अध्यक्ष कृष्ण प्रसाद अर्यालले जानकारी दिनुभयो । स्कुल भित्र जेष्ठ नागरिकहरुलाई प्रवचन सुन्ने, भजन कृतन गर्ने, शारीरिक व्यायम, थेरापी, स्वास्थ्य परीक्षण, दिवा खाजाको समेत व्यवस्था गरिएको छ । साथै साँझमा सन्ध्या आरती समेत हुनेछ । जेष्ठ नागरिकहरुलाई आउन र जानका लागि निःशुल्क बसको समेत व्यवस्था गरिएको छ । उपप्रमुख बालकुमारी थापाको स्वागत र योजना शाखा अधिकृत विक्रम बस्नेतको सञ्चालनमा भएको हो । कार्यक्रमको अवसरमा दार्शनिक गुरु योगी विकाशानन्द ज्यूले कार्यक्रममा उपस्थित जेष्ठ नागरिक, विद्यार्थीहरलाई प्रवचन समेत दिनु भएको थियो । साथै दार्शनिक गुरु योगी विकाशानन्द ज्यूको उपस्थितिमा भोलि देखि रामघाटमा शारीरिक, मानसिक तथा आध्यात्म सम्बन्धी ३ दिवसीय आत्मा जागरण कार्यक्रम हुँदैछ । कार्यक्रमको अवसरमा स्कुल स्थापनाको अवसरमा महत्वपूर्ण सहयोग गर्नुहुने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation