देशैभरी २३ औँ कृष्ण सेन स्मृति दिवस मनाउँदै प्रेस सेन्टर

  • बुटवल,१३ जेठ । २३ वर्षअघि राज्यबाट हत्या गरिएका पत्रकार कृष्ण सेन ‘इच्छुक’को स्मृति दिवस मनाउँदै प्रेस सेन्टर नेपाल । मंगलबार देशैभरी विभिन्न कार्यक्रम गरेर प्रेस सेन्टरले २३औँ सेन स्मृति दिवस मनाउन लागेको हो । जनदिशा दैनिकको प्रधान सम्पादक रहँदा प्रहरीले २०५९ जेठ १३ गते पत्रकार कृष्ण सेनको हत्या गरेको थियो । उनको हत्या भएको दिन हरेक वर्षको जेठ १३ गतेलाई प्रेस सेन्टरले सेन स्मृति दिवसको रूपमा मनाउने गरेको छ ।
    सेन्टरको केन्द्रीय समितिले मंगलबार काठमाडौँमा २३औँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस कार्यक्रम आयोजना गरेको छ । सोमबार सङ्गठनका महासचिव मनोज घर्तीमगरले प्रेस नोट जारी गरेर केन्द्रीय समितिको आयोजना र उपत्यका, प्रतिष्ठान र एशोसियट प्रदेशको सहभागितामा कार्यक्रम गर्न लागिएको जानकारी गराएका छन् । काठमाडौँको बिजुलीबजारस्थित कृष्टल पार्टी भेन्यूमा बिहान ११ बजे आयोजित कार्यक्रम दुई चरणको हुने सङ्गठनले जनाएको छ ।‘दुई चरणमा गरिने कार्यक्रमको पहिलो चरणमा कृष्ण सेन ‘इच्छुक’बारे प्रेस सेन्टर नेपालले तयार पारेको भिडियो सामाग्री प्रसारण गरिनेछ’, प्रेस विज्ञप्तिमा भनिएको छ । दोस्रो चरणमा पिसिएन संवाद हुने र सो संवादमा ‘गणतन्त्र र समाजवादको यात्रा’ र ‘कृष्ण सेन ‘इच्छुक’ र जनपक्षीय पत्रकारिता’ बारे वक्ताहरूसँग संवाद गरिने सेन्टरले जनाएको छ । कार्यक्रममा प्रेस सेन्टर नेपालले प्रदान गर्ने विभिन्न पत्रकारिता पुरस्कार घोषणासमेत गरिने महासचिव घर्तीमगरले जानकारी दिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation