
बुटवल ,११ बैशाख । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा सञ्चार क्षेत्रका समसामयिक मुद्दामा केन्द्रित ‘मिडिया मन्थन’ कार्यक्रम सम्पन्न भएको छ । सञ्चार माध्यमहरूको भूमिका, चुनौती र सम्भावनालाई समेट्दै चार फरक–फरक प्यानल डिस्कसन मार्फत कार्यक्रम सम्पन्न भएको हो। “मिडिया मन्थन“ भन्ने शब्दले नै सञ्चार क्षेत्रका विविध आयाममाथि गहन विश्लेषण र आलोचनात्मक विमर्शलाई जनाउने गर्दछ । यस कार्यक्रमको उद्देश्य समाचार निर्माणदेखि मिडिया व्यवस्थापनसम्मका जटिल प्रश्नहरू उठाउँदै समाधानको खोजी गर्ने रहेको आयोजकले जनाएका छन् । पहिलो सत्रमा समाचारको चयन, प्राथमिकता र सन्दर्भगत सन्तुलनमाथि बहस भएको थियो । वक्ताहरूले समाचार बनाउँदा जनताको हित केन्द्रमा राख्नुपर्नेमा जोड दिएका थिए ।
दोस्रो प्यानलमा सञ्चारगृहहरूको व्यवस्थापन पक्ष – आर्थिक पारदर्शिता, कार्यशैली, र निर्णय प्रक्रिया बारे छलफल गरिएको थियो । कतिपय वक्ताहरूले मिडिया व्यवस्थापनमा देखिएका कमजोरी सुधार्न संस्थागत पहल आवश्यक रहेको औँल्याए । तेस्रो सत्रमा सामाजिक सञ्जालको तीव्र प्रभाव र यसले परम्परागत मिडियामा ल्याएको चुनौतीमाथि विचार–विमर्श भएको थियो । प्रविधिको विकासले नागरिक पत्रकारिता हाबी भइरहेकाले मिडियाको भूमिका अझ जिम्मेवार र तथ्यपरक हुनुपर्नेमा जोड दिइयो ।
अन्तिम सत्रमा पत्रकारहरूको पेशागत सुरक्षा, श्रम अधिकार, बीमा, र मनोवैज्ञानिक संरक्षणका सवालमा सरोकारवालाहरूको आवाज बुलन्द भयो ।
नेपाल पत्रकार महासंघ नेपालको अध्यक्ष निर्मला शर्माले मिडियामा व्यापार व्यवसाय संकटमा परे संगै मिडियामा समेत संकट परिरहेको बताइन्। उनले मिडियाको संरक्षणका लागि राज्यको दायित्व हुने बताउदै महासंघले पत्रकारका हक हितका लागि सदैव लाग्ने बताइन।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले कार्यक्रममा बोल्दै मिडिया मन्थन भन्नाले मिडियाले खेलिरहेको भूमिका र सामना गरिरहेको चुनौतीको पहिचान गर्दै त्यसको समाधानका उपायबारे गम्भीर छलफल गर्नु पर्ने बताए। उनले यस प्रकारका विमर्शहरूले सञ्चार क्षेत्रमा नीतिगत बहसको माहोल सिर्जना गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा पत्रकार, सम्पादक, सञ्चारकर्मी, संचार शिक्षाविद् तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।