
लुम्बिनी २९ चैत । लुम्बिनी साँस्कृतिक नगरपालिकाको शुक्रबार सार्वजनिक सुनुवाई वडा नं.३ पडरियामा कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रश्नकर्ताहरुले शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, सिंचाई, मल, फोहोरमैला व्यवस्थापन, सार्वजनिक जग्गा अतिक्रमण, संचालित योजनाको अवस्था, जग्गा नापजाँच लगायतका विषयमा केन्द्रित रहेर प्रश्न गरेका थिए ।
प्रश्नहरुको जवाफ दिदैं नगरप्रमुख सजरुद्धिन मुसलमानले नगरले विगतमा भन्दा उल्लेख्य प्रगति हासिल गरेको बताए । नगरले शिक्षाको गुणस्तरियता अभिवृद्धि गर्न आवश्यक पूर्वाधारसंगै शिक्षक, अभिभावकलाई अभिमुखिकरण गरिरहेको जानकारी दिए । विगतको नतिजाभन्दा अबको नतिजा सुधारोन्मुख हुने उनले जिकिर गरे ।
नगरका सबै वडामा स्वास्थ्य केन्द्रमा सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गर्न नगर लागिपरेको नगर प्रमुख बताए । उनले कुनै एक जनाले प्रयासले मात्र नगर समृद्ध बन्न नसक्ने भन्दै उनले नगरमा हुने गरेका विकास निर्माणका काममा एकबद्ध हुनुपर्ने बताए ।
नगर उपप्रमुख कल्पना हरिजनले यस क्षेत्रमा कृषकको बसोबास बढि रहेकाले विगतदेखि नै अन्य पालिकामा भन्दा यस पालिकामा आवश्यकताको आधारमा मल ल्याउन पहल गरिरहेको बताईन्
मलको समस्या राष्ट्रव्यापी समस्या भएको भन्दै उनले यसको समाधान केन्द्र सरकारबाटै हुन आवश्यक रहेको बताईन् । लक्षितवर्गका कार्यक्रमलाई प्रभावकारी बनाउन र त्यसको परिणामको लेखाजोखा गर्ने काम निरन्तर भईरहेको उनले बताईन् । उनले नगरबाट संचालित योजनाको प्रभावकारी रुपमा अनुगमन गरि कामको गुणस्तरमा कुनै सम्झौता नगरिने जिकिर गरिन् ।
प्रमुख प्रशासकिय अधिकृत तारा ज्ञवालीले नगरलाई समृद्ध बनाउन सबैको सकारात्मक सहयोग आवश्यक रहेको बताईन् । उनले विभिन्न निकायसंग सहकार्य गरेर नगर फोहोरमैला व्यवस्थापनको कामलाई प्रभावकारी र दिगो बनाउन लागेको बताईन् । सार्वजनिक जग्गा अतिक्रमण गर्न पूर्ण रुपमा गलत भएको भन्दै उनले त्यस्तो हुन नदिईने बताईन् । उनले आगामी दिनमा नगरमा वडास्तरदेखि पालिकास्तरसम्म तहगत रुपमा खेलकुदका गतिविधि गरिने बताईन् ।उनले भूमि सम्बन्धि समस्या समाधान आयोगसंग आवश्यक सहकार्य गरेर लुम्बिनीमा पनि जग्गा नापजाँचको काम थालनी गरिने बताईन् । उनले नगरपालिका सेवाग्राहीलाई छिटोछरितो रुपमा सेवा प्रवाह गर्न प्रतिवद्ध रहेको बताईन् ।
पालिकामा सुशासन र पारदर्शिता कायम गर्नु नै आफ्नो मुख्य उद्देश्य रहेको उनले बताईन् । उनले आफुलाई जुनसुकै बेला पनि पालिकाप्रतिको जिज्ञासासंगै सकारात्मक सल्लाह, सुझाव दिन सक्ने बताए ।