बुटवल,८ भदौ । हजरत मोहम्मद मुस्तफा स्वल्लल्लाहो अलैहे वसल्लमको १५०१औँ जन्मोत्सवको शुभ अवसरमा मदिना मदरसा मस्जिद प्रबन्ध परिषद्, बुटवलको आयोजनामा मानव सेवा आश्रम बुटवलमा भोजन सेवा कार्यक्रम सम्पन्न भएको छ।
जन्मोत्सवको अवसर पारेर परिषद्ले आश्रममा रहेका बेघर तथा असहाय व्यक्तिहरूलाई खाना खुवाएको हो। धार्मिक आस्था र सामाजिक सेवाको भावनालाई जोड्दै आयोजना गरिएको कार्यक्रममा आश्रममा आश्रित व्यक्तिहरूलाई भोजन गराइएको थियो।
कार्यक्रममा मदिना मदरसा मस्जिद प्रबन्ध परिषद्का अध्यक्ष हाजी सकुर मियाको अध्यक्षता तथा संरक्षक हाजी जमाल मियाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा संयोजक अन्जिल खानले कार्यक्रमको उद्देश्य तथा महत्वबारे प्रकाश पार्दै धार्मिक पर्वलाई मानव सेवा र सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउनुपर्ने बताउनुभयो।
उहाँले समाजमा रहेका बेघर, असहाय तथा विपन्न व्यक्तिहरूप्रति सहयोग र सद्भावको भावना विकास गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
जन्मोत्सवको अवसरमा आयोजना गरिएको भोजन सेवाले मानवता, करुणा, आपसी सद्भाव र सामाजिक एकताको सकारात्मक सन्देश दिएको आयोजकले जनाएको छ। मदिना मदरसा मस्जिद प्रबन्ध परिषद्ले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत मानव सेवाका विभिन्न कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।












