प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए–साइड फुटबल प्रतियोगिता ः सातौ दिनमा पाँच खेल सम्पन्न

  • बुटवल, ७ भदौ । ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कुल, बुटवल–११, नहरपुर, रुपन्देहीको आयोजनामा सञ्चालित प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तरविद्यालय ७–ए–साइड फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत सातौँ दिन पाँचवटा प्रतिस्पर्धात्मक खेल सम्पन्न भएका छन् । प्रतियोगिताको शीर्ष प्रायोजक सिद्धार्थ केबलकार लिमिटेड तथा मुख्य प्रायोजकहरू सिद्धि विनायक स्न्याक्स एण्ड नूडल्स प्रा.लि. र ऊर्जा इन्टरप्राइजेज प्रा.लि. रहेका छन् ।

    सातौँ दिनको पहिलो खेलमा शिवपुर माध्यमिक विद्यालय विरुद्ध नवरत्न इङ्लिस हाई स्कुलले संघर्षपूर्ण जित हासिल गर्‍यो । अत्यन्त प्रतिस्पर्धात्मक बनेको खेलमा अमृत बी.के.को निर्णायक गोल नै नवरत्नको जितको आधार बन्यो। उत्कृष्ट प्रदर्शनसहित टोलीलाई महत्वपूर्ण जित दिलाएका अमृत बी.के. प्लेयर अफ द म्याच घोषित भए ।

    दोस्रो खेलमा नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय–टिम एले लुम्बिनी शिक्षालयमाथि ४–० गोलअन्तरको प्रभावशाली जित दर्ता गर्‍यो । कुलचो गुरुङले टोलीका लागि खाता खोले भने रोयल पंगेनीले दुई गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे। अजित हमालले एक गोल थपे। दुई गोलसहित प्रभावशाली प्रदर्शन गरेका रोयल पंगेनी प्लेयर अफ द म्याच घोषित भए ।

    तेस्रो खेलमा सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालयले कोलिया इङ्लिस बोर्डिङ स्कुलमाथि ४–० को फराकिलो जित हासिल गर्‍यो । टोलीका कप्तान सुभाष नेपालीले उत्कृष्ट दुई गोल गर्दै अग्रणी भूमिका निर्वाह गरे भने नबिन बी.के.ले पनि दुई गोल थपे। नेतृत्वदायी तथा प्रभावशाली प्रदर्शन गरेका कप्तान सुभाष नेपाली प्लेयर अफ द म्याच घोषित भए ।

    चौथो खेलमा नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय–टिम बीले श्री जनज्योति माध्यमिक विद्यालयलाई २–० गोलअन्तरले पराजित गर्‍यो । टोलीको जितमा श्याम परियार एक्लैले दुवै गोल गर्दै निर्णायक भूमिका खेले। उत्कृष्ट फिनिसिङसहित शानदार प्रदर्शन गरेका श्याम परियार प्लेयर अफ द म्याच घोषित भए ।

    सातौँ दिनको अन्तिम खेलमा नवरत्न इङ्लिस हाई स्कुल र स्कलर्स होम इङ्लिस बोर्डिङ स्कुलबीच निर्धारित समयसम्म कुनै गोल हुन सकेन । गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा पुगेको थियो, जहाँ नवरत्नले ३–१ को जित हासिल गर्दै अर्को चरणको यात्रा तय गर्‍यो । टाइब्रेकरमा महत्वपूर्ण प्रदर्शन गरेका नवरत्नका गोलरक्षक अजय घमाल प्लेयर अफ द म्याच घोषित भए । प्रतियोगितामा विजेता हुने समूहले नगद ५१ हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन भने उपविजेताले नगद ३१ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । बुटवल देविनगर स्थित एन्फा रंगशालामा खेल भइरहेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation