चेन्नईस्थित SRM विश्वविद्यालयमा दुई नेपाली विद्यार्थीको उत्कृष्ट सफलता

  • अंशु बेलबासे र आरुष भण्डारीले आफ्नो–आफ्नो विधामा प्रथम हुँदै गोल्ड मेडल प्राप्त

    चेन्नई भारत,२ भदौ । भारतको प्रतिष्ठित तथा अग्रणी इन्जिनियरिङ शिक्षण संस्थामध्ये एक SRM University, Chennai को दीक्षान्त समारोहमा दुई नेपाली विद्यार्थीले आफ्नो उत्कृष्ट शैक्षिक प्रदर्शनमार्फत नेपाललाई गौरवान्वित बनाएका छन्।

    नेपालका अंशु बेलबासे र आरुष भण्डारीले B.Tech अध्ययनअन्तर्गत आ–आफ्नो विधामा Rank 1 हासिल गर्दै Gold Medal प्राप्त गरेका हुन्। विश्वविद्यालयको दीक्षान्त समारोहमा उनीहरूलाई उत्कृष्ट शैक्षिक उपलब्धिका लागि स्वर्ण पदक प्रदान गरिएको हो।

    अंशु बेलबासेले B.Tech in Computer Science and Engineering (CSE) मा Rank 1 हासिल गरेका छन्। कपिलवस्तुको इमिलियाका गोविन्द बेलबासेका छोरा अंशुले आफ्नो विद्यालय तहको अध्ययन Oxford School तथा त्यसपछि Kalika Manavgyan College, Butwalबाट पूरा गरेका थिए। निरन्तर मेहनत, लगनशीलता र उत्कृष्ट शैक्षिक प्रदर्शनका आधारमा उनले SRM University मा आफ्नो ब्याचमै शीर्ष स्थान हासिल गर्न सफल भएका हुन्।

    त्यसैगरी आरुष भण्डारीले B.Tech in Mechatronics and Robotics Engineering मा Rank 1 हासिल गर्दै Gold Medal प्राप्त गरेका छन्। सिद्धार्थनगर नगरपालिका–९ का गंगाधर भण्डारीका छोरा आरुषले विद्यालय तहको अध्ययन Kashi Noble Academy तथा उच्च माध्यमिक शिक्षा Tillottama College, Butwalबाट पूरा गरेका थिए।

    चार वर्षअघि नेपालबाट करिब २,५०० किलोमिटर टाढा चेन्नईमा उच्च शिक्षा हासिल गर्ने उद्देश्यले पुगेका यी दुई युवाले कठिन परिश्रम, अनुशासन र निरन्तर अध्ययनमार्फत आज आफ्नो सपना पूरा गरेका छन्। उनीहरूको यो उपलब्धि व्यक्तिगत सफलता मात्र नभई नेपाली विद्यार्थीको क्षमता र प्रतिभाको अन्तर्राष्ट्रिय पहिचानसमेत बनेको छ।

    विशेषगरी, एउटै विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले CSE तथा Mechatronics & Robotics जस्ता अत्यन्त प्रतिस्पर्धात्मक प्राविधिक विधामा प्रथम स्थान हासिल गर्दै Gold Medal प्राप्त गर्नु नेपाली अभिभावक, शिक्षण संस्था तथा सम्पूर्ण नेपाली समुदायका लागि गौरवको विषय बनेको छ।

    अंशु बेलबासे र आरुष भण्डारीको यो सफलताले नेपालका युवा विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा र प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा दिने विश्वास गरिएको छ।

    दुवै प्रतिभाशाली युवालाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना!

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation