असार ७, बुटवल । पारदर्शी सरोकार समूह बुटवलले क्याम्पस पढ्ने विद्यार्थीहरुलाई भ्रष्टाचार न्युनिकरण तथा सदाचार प्रवद्र्धन सम्बन्धमा सचेतना तथा अभिमूखिकरण प्रदान गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसंग आबद्ध संस्था पारदर्शी सरोकार समूह बुटवलले शुक्रबार एक कार्यक्रमको आयोजना गरि बुटवलका विभिन्न क्याम्पसका विद्यार्थीहरुलाई सुशासन र सदाचार प्रवद्र्धनका लागि सचेतना प्रदान गरेको हो । 
विद्यार्थी, सरोकारवाला र श्रोतव्यक्तिहरुका बीचमा गरिएको छलफल र अन्तरक्रियामा भ्रष्टाचार न्युनिकरण र सदाचार प्रवद्र्धन सम्बन्धमा भएका अभ्यास र उपायहरुका विषयमा खोजी र छलफल गरिएको थियो । सो अवसरमा बुटवल उपमहानगरपालिकाका नगरउपप्रमूख सावित्रादेवी अर्यालले अध्यनरत विद्यार्थीहरु भविष्यका राष्ट्रसेवक, उद्यमी, राजनीतिज्ञ, पत्रकार लगायत सबै पेशाका जिम्मेवार व्यक्तिहरु भएकाले सुशासन कायम गर्न विद्यार्थीहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । शिक्षण तहमा नै विद्यार्थीहरुलाई सदाचार र सुशासन सम्बन्धमा प्रशिक्षित र राष्ट्रप्रति जिम्मेवार बनाउन सकेमा भ्रष्टाचार निर्मुल पार्न सकिने तर्क गर्दै उहाँले विद्यार्थीहरुलाई हरेक क्षेत्रमा सदाचारी बन्न आग्रह गर्नुभएको छ । सबैले आ–आफ्नो क्षेत्रमा सुशासनका लागि कार्य गर्न आवश्यक रहेको बताउँदै उपप्रमूख अर्यालले आफुहरु जनप्रतिनिधिको रुपमा बुटवलमा आएपछि भ्रष्टाचार न्युनिकरण नभई निर्मुल पार्नुपर्ने ठानेर सोही अनुरुप कार्य गरिरहेको बताउनु भयो । सोही अवसरमा उच्च सरकारी वकिलको कार्यालय बुटवलका सहायक न्यायाधिवक्ता बसन्तराज पोखरेलले भ्रष्टाचार, भ्रष्टाचार न्युनिकरण, सदाचार प्रवद्र्धन र सुशासन कायम सम्बन्धमा कानुनमा भएका अभ्यास र गर्न सकिने कार्यहरुका बारेमा विद्यार्थीहरुलाई सहजिकरण गर्नुभएको थियो । पारदर्शी सरोकार समूहका अध्यक्ष लालहरि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका कार्यसमिति सदस्य महेन्द्रनारायण श्रेष्ठ, युवा प्रतिनिधि श्याम राना, विद्यार्थीहरु एम्स कलेजका अनु भण्डारी, कालिका क्याम्पसका समिर कार्की र सिर्जना केसी लगायतले आफ्नो धारणा राख्नुभएको थियो । बुटवल उपमहानगरपालिका नगरकार्यपालिको कार्यालयको सहकार्यमा सम्पन्न कार्यक्रम पारदर्शी सरोकार समूह बुटवलका उपाध्यक्ष दीपक ढकालको स्वागत तथा सचिव सनु थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।











