बुटवल, भदौ । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण नगर विकास कोषको सञ्चालक समितिको सदस्यमा मनोनीत भएका छन्।
नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार खाणलाई नगर विकास कोष ऐन, २०५३ को दफा १४ को उपदफा २(घ) बमोजिम सञ्चालक समितिको सदस्य पदमा मनोनीत गरिएको हो।
पूर्वाधार विकास मन्त्रालयका सहसचिव दिलिप भण्डारीद्वारा हस्ताक्षरित पत्रमा खाणलाई नगर विकास कोषको सञ्चालक समितिको सदस्य पदमा मनोनयन गरिएको व्यहोरा उल्लेख छ। मन्त्रालयले २०८३/०४/२५ गते गरेको मन्त्रीस्तरीय निर्णयअनुसार खाणलाई उक्त जिम्मेवारी दिइएको हो।
तिलोत्तमा नगरपालिकाको नगर प्रमुखका रूपमा कार्यरत खाणलाई नगर विकास कोषको सञ्चालक समिति सदस्यमा मनोनयन गरिएसँगै स्थानीय तहको विकास, पूर्वाधार निर्माण तथा सहरी विकाससँग सम्बन्धित विषयमा उनको भूमिका थप विस्तार हुने अपेक्षा गरिएको छ।
नगर विकास कोषले स्थानीय तहमा सहरी पूर्वाधार विकास तथा विभिन्न विकास आयोजनाका लागि वित्तीय तथा प्राविधिक सहयोग गर्दै आएको छ। सञ्चालक समितिमा खाणको सहभागिताले स्थानीय तहका आवश्यकता र प्राथमिकतालाई कोषको नीति तथा कार्यक्रमसँग जोड्न थप सहयोग पुग्ने विश्वास गरिएको छ।
मन्त्रालयको पत्रमा उक्त मनोनयनसम्बन्धी जानकारी नगर विकास कोष र तिलोत्तमा नगरपालिकालाई समेत बोधार्थ पठाइएको उल्लेख छ।











