अर्घाखाँची १ भदौ । जनकपुरधाम, साउन ३१ । यातायात व्यवस्था कार्यालय बर्दिबासले सेवाग्राहीलाई स्थानीय तहमै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराउने अभियानलाई तीव्रता दिएको छ। कार्यालयले आर्थिक वर्ष २०८२/०८३ सम्म छपाइ भइसकेका लाइसेन्स सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरेपछि सेवाग्राहीलाई लाइसेन्स लिन बर्दिबाससम्म पुग्नुपर्ने बाध्यता क्रमशः हट्ने भएको हो।
यातायात व्यवस्था कार्यालय बर्दिबासका प्रमुख राकेश यादवको पहलमा सेवाग्राहीलाई सहज, सरल र छिटो सेवा दिने उद्देश्यले लाइसेन्स वितरणलाई स्थानीय तहसम्म पुर्याइएको हो। यादवका अनुसार कार्यालयबाट प्राप्त लाइसेन्स सम्बन्धित पालिकामै पुगेर सेवाग्राहीले लिन सक्ने व्यवस्था मिलाइएको छ।
आइतबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा कार्यालय प्रमुख राकेश यादव र मन्त्रालयका सचिव रञ्जित यादवले बलवा नगरपालिकाका मेयर रामविजय महतोसहित सम्बन्धित स्थानीय तहका प्रमुखलाई लाइसेन्स हस्तान्तरण गरेका थिए। सोही क्रममा रामगोपालपुर र गौशाला नगरपालिका तथा सम्सी गाउँपालिकाका प्रमुखलाई समेत लाइसेन्स हस्तान्तरण गरिएको कार्यालयले जनाएको छ।
यसअघि भंगहा र लोहारपट्टी नगरपालिकामा समेत छापिएर आएका लाइसेन्स हस्तान्तरण गरिएको थियो। सम्बन्धित स्थानमा आयोजित कार्यक्रममा उपस्थित सेवाग्राहीलाई त्यहीँबाट लाइसेन्स उपलब्ध गराइएको थियो।
यातायात कार्यालय बर्दिबासका प्रमुख यादवले सेवाग्राहीलाई सानो कामका लागि पनि कार्यालयसम्म धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै स्थानीय तहमै सेवा पुर्याउने नीति अघि बढाइएको बताए। उनका अनुसार यसबाट सेवाग्राहीको समय, खर्च र झन्झट तीनै घट्ने अपेक्षा गरिएको छ।
अधिकांश सेवा अब मोबाइलबाटै
चालु आर्थिक वर्षदेखि यातायात कार्यालयबाट प्रदान हुँदै आएका विभिन्न सेवामध्ये ठूलो हिस्सा अनलाइन प्रणालीमा जोडिएको यादवले जानकारी दिए। उनका अनुसार अब सेवाग्राहीले आफ्नो मोबाइलबाटै धेरैजसो प्रक्रिया पूरा गर्न सक्नेछन्।
सवारी चालक अनुमतिपत्रका लागि आवश्यक लिखित तथा प्रयोगात्मक परीक्षा भने कार्यालयमै उपस्थित भएर दिनुपर्नेछ। त्यसबाहेकका अधिकांश प्रक्रियाका लागि सेवाग्राहीले मोबाइलमार्फत सेवा लिन सक्ने व्यवस्था गरिएको यादवले बताए।
अनलाइन सेवा लिन www.edlvrs.madhesh.gov.np मार्फत प्रक्रिया अघि बढाउन सकिने कार्यालयले जनाएको छ।
यादवका अनुसार आगामी दिनमा सवारी साधनको कर भुक्तानी, नामसारीलगायत यातायात क्षेत्रका अन्य सेवासमेत क्रमशः विद्युतीय प्रणालीमार्फत उपलब्ध गराउने तयारी भइरहेको छ।
“सेवाग्राहीलाई सेवा लिन कार्यालयमै धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै प्रविधिमैत्री र जनमैत्री सेवा विस्तार गर्नु हाम्रो प्राथमिकता हो,” कार्यालय प्रमुख यादवले बताए।
यातायात कार्यालय बर्दिबासले स्थानीय तहसँगको समन्वयलाई अझ प्रभावकारी बनाउँदै लाइसेन्सलगायतका सेवा नागरिकको नजिकै पुर्याउने अभियानलाई निरन्तरता दिने जनाएको छ।











