पाल्पा,३१ बैशाख ।रामपुर नगरपालिकालाई पूर्ण खोप एवं पूर्ण संस्थागत प्रसुति सेवायुक्त नगरपालिका सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नगरपालिका भित्र रहेका बालबालिकाले पूर्ण खोप लगाएको तथा सुत्केरी भएका सबै महिलाले स्वास्थ्य संस्था बाट प्रसुति सेवा लिएको सुनिश्चित भएसँगै नगरपालिकालाई बुधबार पूर्णखोप दिगोपना सुनिश्चित घोषणा गरिएको हो ।रामपुरलाई घोषणा गरेसँगै जिल्लाका नौ वटा पालिका पूर्णखोप तथा संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा भएका छन् । रामपुर नगरपालिकामा आयोजित कार्यक्रममा जिल्ला खोप समन्वय समिति पाल्पाले प्रमाणपत्र हस्तान्तरण गरेको थियो । जिल्ला खोप समन्वय समितिका संयोजक टंकनाथ खनाल, स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेल, रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डित तथा स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेलाई पूर्णखोप सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसुति सेवायुक्त नगरपालिका भएको प्रमाणपत्र प्रदान गर्दै घोषणा गरिएको हो । जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले भौतिक पूर्वाधारको विकासले मात्र दिगो विकासको सूचक पूरा नहुने बताउनुभयो । उहाँले नागरिकको स्वास्थ्यप्रति थप जिम्मेवार बनाउन तथा दिगो विकासको लक्ष्य हासिल गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । खनालले विकासको सूचकमा नागरिकको स्वास्थ्य र औसत आयुको महत्वपूर्ण भूमिका रहने भन्दै पूर्ण मात्राको खोप अपरिहार्य रहेको उल्लेख गर्नुभयो । राज्यले स्वास्थ्य क्षेत्रमा ठूलो धनराशी खर्च गरिरहेको भन्दै यसलाई सामान्य रूपमा नलिन आग्रह गर्नुभयो ।रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले दीर्घकालीन विकास भनेको स्वास्थ्य र शिक्षामा गरिएको लगानी भएको बताउनुभयो । पूर्ण खोप एवं पूर्ण संस्थागत प्रसुति सेवायुक्त नगरपालिका घोषणा गर्न सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै नगरपालिकाले स्वास्थ्यका लागि आवश्यक पूर्वाधार निर्माणमा समेत जोड दिने बताउनुभयो । नगरभित्र रहेका १६ वटा स्वास्थ्य संस्थाका लागि नगरपालिकाले आफ्नै स्रोतमा ४५ जना कर्मचारी व्यवस्थापन गर्दै आएको जानकारी दिनुभयो ।रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापाले स्वस्थ आमा र स्वस्थ बालबालिकाका लागि खोप तथा संस्थागत प्रसुतिको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले नगरपालिकाले स्वास्थ्य सेवामा पहुँच विस्तारसँगै जनचेतनामूलक कार्यक्रमलाई समेत प्राथमिकतामा राख्दै आएको उल्लेख गर्नुभयो । सबैको सहकार्य र सक्रियताबाट रामपुरलाई पूर्णखोप एवं पूर्ण संस्थागत प्रसुति सेवायुक्त नगरपालिका घोषणा गर्न सफल भएको बताउनुभयो ।नगर प्रवक्ता एवं रामपुर नगरपालिका–१ का वडा अध्यक्ष कपिल बहादुर खाँणले स्थानीय तह गठनपछि स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार भएको बताउनुभयो । उहाँले स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र सरोकारवालाको निरन्तर सक्रियताले नगरलाई पूर्णखोप सुनिश्चितता घोषणा गर्न सम्भव भएको उल्लेख गर्नुभयो । आगामी दिनमा पनि स्वास्थ्य सेवा प्रभावकारी बनाउन नगरपालिकाले आवश्यक सहयोग र समन्वयलाई निरन्तरता दिने बताउनुभयो ।स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले पाल्पालाई ऐतिहासिक रूपमा विसं २०७० फागुन १३ गते नेपालकै पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको जानकारी दिनुभयो । त्यसपछि पूर्णखोप सुनिश्चितता घोषणालाई निरन्तरता दिइँदै आएको उहाँले बताउनुभयो । साथै पाल्पा जिल्लालाई देशमै पहिलो पटक पूर्ण संस्थागत प्रसुति सेवायुक्त जिल्ला घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । तिनाउ गाउँपालिका मात्र घोषणा हुन बाँकी रहेको र त्यसपछि पाल्पा पूर्ण संस्थागत सुत्केरीमा पनि पहिलो जिल्ला बन्ने बताउनुभयो । संघीय संरचना कार्यान्वयनसँगै स्थानीय तहको पहलमा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण काम भएको उल्लेख गर्दै २०७२/०७३ सम्म पाल्पामा होम डेलिभरीको संख्या १७ प्रतिशतसम्म रहेकोमा अहिले शून्यमा झार्न सफल भएको जानकारी दिनुभयो ।कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका खोप अधिकृत विश्वनाथ न्यौपानेले पूर्णखोप सुनिश्चितता घोषणाले ड्रपआउट हुने बालबालिकाको संख्या घट्दै गएको बताउनुभयो । उहाँले प्रत्येक वर्ष जन्मदर घट्दै जानु दुःखद् विषय भएको भन्दै यसतर्फ सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो । रामपुर अस्पतालका निमित्त मेसु डा. स्मृति गौतमले सबैको साथ र सक्रियताले कार्यक्रमले सार्थकता प्राप्त गरेको बताउनुभयो । गाँडाकोट स्वास्थ्य चौकीका प्रमुख मजिबुर रहमान शेखले शिशु मृत्युदर न्यूनीकरणका लागि नेपालमा १४ वटा खोप लगाइँदै आएको जानकारी दिँदै खोप अभियानमा सक्रिय स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभयो । साथै खोप केन्द्रको भौतिक संरचना निर्माणमा समेत ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।कार्यक्रमको अवसरमा उमेर हदका कारण महिला स्वास्थ्य स्वयंसेविका मिठ्ठु कुमारी मल्ल र सीतादेवी श्रेष्ठलाई सम्मानसहित विदाइ गरिएको थियो । उहाँहरूले आफ्ना अनुभव समेत सुनाउनुभएको थियो ।रामपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेका अनुसार चालु आर्थिक वर्षमा जन्मदेखि १५ महिनासम्मका ५ सय ५१ तथा १६ महिनादेखि ५९ महिनासम्मका १ हजार ७ सय ९२ बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन् ।रामपुर नगरपालिकाका वरिष्ठ नर्सिङ अधिकृत पुनम धितालले गत आर्थिक वर्षमा नगरपालिकामा सुत्केरी भएका ५ सय २२ जना महिलामध्ये शतप्रतिशतले स्वास्थ्य संस्था बाट प्रसुति सेवा लिएको जानकारी दिनुभयो । प्रोटोकल अनुसार ९० प्रतिशत गर्भवती महिलाले नियमित स्वास्थ्य जाँच गराएको तथा सुत्केरी भएका महिलामध्ये ९१ दशमलव २६ प्रतिशतले प्रसुति पश्चात स्वास्थ्य जाँच गराएको तथ्यांक प्रस्तुत गर्नुभयो । रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रम वरिष्ठ नर्सिङ अधिकृत पुनम धितालको स्वागत तथा रामपुर नगरपालिकाका जनस्वास्थ्य अधिकृत पुनम जिसीको सञ्चालनमा भएको थियो । कार्यक्रमको अवसरमा नगरभित्रका १० वटै वडालाई पूर्णखोप एवं पूर्ण संस्थागत प्रसुति सेवायुक्त सुनिश्चितता घोषणा गरिएको थियो ।











