बुटवल, १८ बैशाख । सामुहिक लगानी मार्फत आर्थिक समृद्धिको लक्ष हासिल गर्ने उद्देश्यसहित स्थापित भिजन लुम्बिनी लिमिटेडद्वारा प्रबद्र्धित नमः बुद्ध हाइड्रोपावर प्रा.लि.ले तिनाउ खोलामा ३.४४ मेगावाटको बिजुली निकाल्ने घोषणा गरेको छ । साना लगानीकर्तालाई जोडेर ठुलो प्रोजेक्टहरुमा लगानी गर्ने मुख्य योजनासहित अघि बढिरहेको भिजन लुम्बिनीले बुटवलमा पत्रकार सम्मेलन गर्दै पाल्पाको तिनाउ गाउँपालिका झुम्सामा सो जलबिद्युत परियोजना संचालन गरिने जनाएको छ ।
करिब ७० करोड लागत अनुमान रहेको सो आयोजना १५ महिनामा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने र राष्ट्रिय प्रसारणमा जोड्नका लागि सम्पुर्ण तयारी पुरा भएको भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले बताए । अध्यक्ष पोखरेलका अनुसार आयोजनामा लगानीका लागि लुम्बिनी विकास बैंकसँग सम्झौता गरी स्रोत सुनिश्चितता भइसकेको छ । पोखरेलले सामूहिक लगानी नै समृद्धिको आधार भएकाले तिनाउमा जलविद्युत आयोजना निर्माण अघि बढेको बताए । अध्यक्ष पोखरेलले आयोजनामा लगानी गर्न बुटवलबासीलाई आग्रह पनि गरेका छन् ।
जलविद्युत परियोजनाको प्राविधिक पक्ष वातावरणीय तथा पर्यावरणीय मुल्यांकन लगाएत प्रारम्भिक चरणको काम सकिएको छ । यसअघि भिजन लुम्बिनीको संयोजन र ब्यबस्थापनमा कास्कीमा २५ मेगावाटको जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । १० बर्षअघि १० करोड पुँजी संकलन गरि यात्रा शुरु गरेको भिजन लुम्बिनीले अहिले १२ वटा ठूला प्रोजेक्टमा लगानी गरी काम शुरु गरेको छ । निकट भविष्यमा १ अनुपात ४ को हकप्रद शेयर निस्कासन गर्ने आवश्यक तयारी पनि गरेको छ । यसपछि सर्वसाधारण लगानीकर्ताका लागि आईपिओमा पनि जाने तयारी भैरहेको अध्यक्ष पोखरेलले बताए ।
कुल ५१ करोड पुँजी रहेको भिजन लुम्बिनी लिमिटेडका संचालक राजीव गौतमले पश्चिम नेपालको महाकाली र कर्णालीमा पनि ठूला जलविद्युत आयोजनाहरु निर्माण गर्न काम अघि बढाउने प्रक्रियामा रहेको बताए । संचालक गौतमले साना–साना लगानीकर्तालाई जोडेर भिजन लुम्बिनी कम्पनी स्थापना गरिएको जानकारी गराउदै भिजन लुम्बिनीले अहिले देशका विभिन्न ठाउँमा हाइड्रो, फाईनान्स, हस्पिटालिटी र सुचना प्रबिधि लगाएतका बिभिन्न क्षेत्रमा लगानी गरिरहेको बताए ।
कार्यक्रममा लगानीकर्ताका तर्फबाट कुलबहादुर केसी, अनुपमान सैंजु लगायतले भिजन लुम्बिनीलाई भिजन नेपाल बनाउनुपर्ने कुरामा जोड दिँदै साना लगानीकर्तालाई आकर्षित गर्दै ठुला परियोजनाहरु संचालन गरेर समग्र मुलुकलाई नै आर्थिक समृद्धिको दिशातर्फ उन्मुख गराउन भिजन नेपाल सफल हुने विश्वास ब्यक्त गरेका थिए ।











