रोल्पा जिप दुर्घटनाप्रति मुख्यमन्त्री आचार्य स्तब्ध, सडक सुरक्षामा जोड

  • दाङ,१७ बैशाख । रोल्पाको प्रसिद्ध धार्मिक स्थल जलजलातर्फ जाँदै गरेको तीर्थयात्री बोकेको जिप दुर्घटनामा परी यात्रुको ज्यान गएको घटनाप्रति लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
    बिहीबार दिउँसो रुकुम पूर्वको रुकुमकोटबाट जलजलातर्फ जाँदै गरेको जिप थबाङ गाउँपालिका–१ र ४ को सिमानामा पर्ने डाँडामा दुर्घटनामा परेको थियो । दुर्घटनामा जिपमा सवार १७ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
    जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार लगातारको वर्षाका कारण सडक चिप्लो हुँदा जिप अनियन्त्रित भई करिब ८०० मिटर तल उवातर्फ खसेको थियो । अत्यधिक वर्षाका कारण उद्धार कार्य र थप विवरण संकलनमा समेत कठिनाइ भएको प्रहरीले जनाएको छ ।
    घटनाप्रति प्रतिक्रिया दिँदै मुख्यमन्त्री आचार्यले यस दुःखद दुर्घटनाले आफूलाई स्तब्ध बनाएको बताउनुभएको छ । उहाँले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको हो ।
    मुख्यमन्त्री आचार्यले भविष्यमा यस्ता दुःखद घटना दोहोरिन नदिन सडक सुरक्षालाई विशेष प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याउनुभएको छ । जोखिमयुक्त सडकमा आवश्यक सुधार, नियमित अनुगमन र सुरक्षित यातायात व्यवस्थापनमा सम्बन्धित निकायलाई थप जिम्मेवार हुन आग्रह गर्नुभयो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation