काठमाडौँ,७ बैशाख । देशका विभिन्न तराई क्षेत्रहरूमा अत्यधिक गर्मी बढ्दै गएको छ। जल तथा मौसम विज्ञान विभागले सोमबार जारी गरेको सूचना अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी पुगेको छ।
त्यसैगरी मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानहरूमा तापक्रम ३८ डिग्री सेल्सियस आसपास मापन गरिएको छ, जसले गर्दा जनजीवन प्रभावित हुन थालेको छ।विभागका अनुसार आगामी तीन दिनसम्म पनि यी क्षेत्रहरूमा अत्यधिक गर्मी कायम रहने सम्भावना छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मध्यम स्तरको तातो लहर चल्ने अनुमान गरिएको छ।











