काठमाडौँ,७ बैशाख । खाडी क्षेत्रमा नेपाली श्रमिकका लागि नयाँ श्रम स्वीकृति पुनस् खुला गर्ने विषयमा परराष्ट्र मन्त्रालयअन्तर्गतको इमर्जेन्सी रेस्पोन्स टिम (इआरटी) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सिफारिस गरेको छ। निर्णयसँगै अब साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, जोर्डन, लेबनन, टर्की र इजरायलका लागि सबै प्रकारका श्रम स्वीकृति (व्यक्तिगत, संस्थागत र वैधानिकीकरण) पूर्ववत अवस्थामा जारी हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।इरान युद्धका कारण पश्चिम एसियाली क्षेत्रमा उत्पन्न विषम परिस्थितिका कारण सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सरकारले फागुन १७ गते ती मुलुकहरूमा वैदेशिक रोजगारीमा जान अस्थायी रूपमा रोक लगाएको थियो । परिस्थितिमा सुधार आएसँगै श्रमिकहरूको हित र मागलाई ध्यानमा राखी पुनः श्रम स्वीकृति खुला गरिएको विभागको सूचनामा उल्लेख छ ।











