रुपन्देही, २३ चैत । श्री खड्ग माध्यमिक विद्यालयमा कक्षा ११ का विद्यार्थीहरूले कक्षा १२ का विद्यार्थीहरूलाई लक्षित गर्दै भव्य शुभकामना तथा बिदाइ कार्यक्रम सम्पन्न गरेका छन्। विद्यालयको दीर्घकालीन परम्परा अनुसार आयोजित उक्त कार्यक्रम उल्लासमय वातावरणमा सम्पन्न भएको हो।
कार्यक्रम कक्षा ११ का विद्यार्थी विजय बेल्दारको अध्यक्षतामा सम्पन्न भएको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास अग्रहरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो। साथै, विद्यालयका प्रधानाध्यापक बाबुराम बस्नेत र शिक्षक अभिभावक संघका अध्यक्ष सुरज गुप्ता विशेष अतिथिका रूपमा कार्यक्रममा सहभागी हुनुभएको थियो। कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षकहरूको सक्रिय उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुवात कक्षा ११ का विद्यार्थी कृष्ण कुर्मीको स्वागत मन्तव्यबाट भएको थियो, जहाँ उहाँले कक्षा १२ का विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो। कार्यक्रम सञ्चालन सैनाज खातुनले कुशलतापूर्वक गर्नुभएको थियो।
कार्यक्रमका अवसरमा कक्षा १२ का विद्यार्थीहरूलाई फुलको गुच्छा, खादा तथा मायाको चिनो प्रदान गरी सम्मानपूर्वक बिदाइ गरिएको थियो। साथै, कक्षा ११ का विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक कार्यक्रमहरूले कार्यक्रमलाई अझ आकर्षक र स्मरणीय बनाएका थिए।
कार्यक्रममा कक्षा १२ को तर्फबाट आफ्नो अनुभव राख्दै सिमरन अग्रहरीले विद्यालय जीवनका मीठा सम्झनाहरू प्रस्तुत गर्नुका साथै शिक्षक तथा साथीहरूप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी अतिथिहरूले विद्यार्थीहरूलाई अनुशासन, लगनशीलता र सकारात्मक सोचका साथ जीवनमा अगाडि बढ्न प्रेरणादायी मन्तव्य व्यक्त गरेका थिए। यस कार्यक्रमले विद्यार्थीहरूबीच आपसी सम्मान, सद्भाव र सहकार्यको भावना थप सुदृढ बनाएको विश्वास व्यक्त गरिएको छ।
यसै सन्दर्भमा, आगामी बैशाख महिनामा सञ्चालन हुन गइरहेको SLC-2083 परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक शुभकामना व्यक्त गरिएको छ। विद्यार्थीहरूले आत्मविश्वास, मिहिनेत र धैर्यताका साथ परीक्षा दिई उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिएको छ।











