काठमाडौं,१२ चैत। संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनाका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिक मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ। रक्षा मन्त्रालयअन्तर्गत जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको सूचनाअनुसार हाई रेडिनेस प्रोटेक्सन ब्याटालियन अन्तर्गत कार्यरत श्री रिपुमर्दन गण (शान्ति सेना) सातौँ डफ्फा तथा सैनिक प्रहरी युनिट (शान्ति सेना) दशौँ डफ्फा लाई प्रतिस्थापन गर्न नयाँ टोली मिसन क्षेत्रमा पठाइएको हो।मिसनमा आफ्नो कार्यकाल पूरा गरेका २११ जना शान्ति सैनिक चैत ११ गते स्वदेश फिर्ता भएका छन् भने उनीहरुको स्थान लिन १७९ जना शान्ति सैनिकको पहिलो टोली बिहीबार मिसन इलाकातर्फ प्रस्थान गरेको छ।
उक्त मिसनमा तैनाथ रिपुमर्दन गण (सातौँ डफ्फा) र सैनिक प्रहरी युनिट (दशौँ डफ्फा) लाई बदली गर्नका लागि कालीबहादुर गण (आठौँ डफ्फा) र सैनिक प्रहरी युनिट (एघारौँ डफ्फा) त्यसतर्फ गएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।











