सडक आश्रित मानवमुक्त घोषणाको तयारीमा काठमाडौं महानगर

  • काठमाडौँ,४ चैत । काठमाडौँ महानगरपालिकाको भौगोलिक क्षेत्रलाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त घोषणाका लागि तयारीमा लागेको छ । २०७४ मङ्सिर १ गते महानगरले मानव सेवा आश्रमसँग सम्झौता गरेर सडक आश्रित मानव व्यवस्थापनको काम सुरु गरेको थियो ।मंगलबार महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा मानव सेवा आश्रमका अधिकारी बिच छलफल भएको थियो । ‘घोषणाको तयारी थाल्दा घोषणा गर्ने मात्र नभई त्यसलाई दिगो बनाउने कानुनी, प्रशासनिक तथा व्यावहारिक पक्ष सक्रिय बनाउन लागेका छौँ,’ उनले भनिन्, ‘यसका लागि समन्वय र सहजीकरणको विषय सुनिश्चित गर्नुपर्छ ।’ छलफलमा सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले अहिलेको उपलब्धि जोगाउने गरी कार्यक्रम तर्जुमा गर्नुपर्नेमा जोड दिए । यस्तै, महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले सडकमा आश्रित सहयोगापेक्षीहरुलाई उद्धार गरेर आश्रममा लैजाने क्रम अहिले पनि जारी रहेको उल्लेख गरे ।महानगरपालिकाले आश्रमलाई २ करोड ८४ लाख ७३ हजार २३७ रुपियाँ प्रदान गरिसकेको छ । उद्धार कार्यका लागि आवश्यक पर्ने एउटा सवारी साधन उपलब्ध गराएको छ । महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार ९१९ जना सडक आश्रितको उद्धार गरिएको छ । २०७४ मङ्सिर १ गते मानव सेवा आश्रमसँग सम्झौता गरेर सडक आश्रित मानव व्यवस्थापनको काम सुरु गरेको हो ।
    आश्रमका अध्यक्ष रामजी अधिकारीका अनुसार यसरी उद्धार गरिएकामध्ये ३१५ जनाको मृत्यु भएको छ । सात सय १३ जनालाई पारिवारिक पुनर्मिलन र ३३६ जनालाई सामुदायिक पुनर्मिलन गराइएको जनाउँदै उनले उद्धार गरिएकामध्ये अहिले आश्रमको संरक्षणमा २६८ जना रहेका बताए।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation