चितवन ,२८ फागुन। हरेक वर्ष गर्मी समयमा वन्यजन्तुका लागि चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पोखरी निर्माण र मर्मतको काम सुरु गरेको छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार जनावरलाई खान, जलमा बस्ने जनावरका लागि वासस्थान र घाँसेमैदान सिँचाइका लागि पोखरी निर्माण गर्ने गरिन्छ । उनले यसवर्ष तीन वटा नयाँ पोखरी निर्माण र चारवटा पोखरी मर्मतको काम गर्न लागिएको बताए ।
‘यसवर्ष पोखरी निर्माण र मर्मत वन्यजन्तुको बासस्थानका आधारमा गर्न लागेका छौँ,’ उनले भने । निकुञ्जभित्र ५६ पोखरी तथा तालतलैया रहेको उनले बताए । उनका अनुसार ती सबै पोखरी तथा तालहरूमा सरसफाइ गर्न नसकिए पनि महत्वपूर्ण स्थानमा रहेका ताल र पोखरी निर्माण गर्न लागिएको हो ।
यस निकुञ्जमा दुर्लभ एक सिंगे गैँडा, पाटेबाघ, भालु, चित्तल, हात्ती लगायतका जनावरको बासस्थान रहेको छ ।
९५२ दशमलव ६३ हेक्टर क्षेत्रफलमा फैलिएको निकुञ्जमा घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाउने कामसमेत सुरु गरिएको छ ।











