स्थानीय उत्पादन र उद्यमशीलताले समृद्ध प्रदेशको लक्ष्य पूरा हुन्छ: मुख्यमन्त्री आचार्य

  • रुपन्देही,१२ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनका सामग्रीको बजारीकरण र उद्यमशीलताको विकासबाट नै समृद्ध प्रदेशको आकांक्षा पूरा गर्न सकिने बताउनुभएको छ ।

    सैनामैना उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको सातौं सैनामैना महोत्सव-२०८२ को सोमबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने मुख्य आधार स्थानीय उत्पादन नै भएको उल्लेख गर्नुभयो ।

    उहाँले स्थानीय उत्पादनको बजारीकरण र उद्यमशीलताको प्रवर्द्धनमा सबैको साझा ध्यान जानु आवश्यक रहेको बताउनुभयो । मेला–महोत्सवमा स्थानीय उत्पादनका सामग्रीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो,`मेला-महोत्सव आयोजना गर्दा स्थानीय उत्पादनले प्राथमिकता नपाउने अवस्था बन्नु हुँदैन । मेला-महोत्सवमा स्थानीय उत्पादनले अनिवार्य रूपमा प्राथमिकता पाउनुपर्छ ।´

    मुख्यमन्त्री आचार्यले प्रदेश सरकार उद्योगी व्यवसायीको पक्षमा सधैं उभिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,`प्रदेश सरकार उद्योगी व्यवसायीको रक्षा कवच बनेर उभिएको छ । व्यवसायीको लगानीको सुरक्षाको ग्यारेन्टीका लागि हामी खटिरहेका छौं । लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तल्लिन भएर लागेको छ । उद्योगी व्यवसायीले स्वदेशमै लगानी गरेर उत्पादन बढाउन जरुरी छ ।´

    सो अवसरमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल लगायत वक्ताहरूले नवप्रवर्तनको क्षेत्रमा समेत लगानी बढाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation