(दर्शन दीप: विषय क्रमांक ५७)
मुण्डक उपनिषद र ज्ञान–विज्ञानको यो गहन यात्रामा आज हामी एउटा यस्तो विन्दुमा छौँ, जहाँ प्राचीन ऋषिहरूको अन्तर्दृष्टि र आधुनिक पदार्थ विज्ञानको उत्कर्ष एकाकार हुन खोज्दैछन्। मलाई लाग्छ, हाम्रा पुर्खाहरूले जतिखेर यी मन्त्रहरू दृष्टा बनेर साक्षात् गरे, त्यतिबेला उनीहरूले केवल शब्द मात्र कोरेका थिएनन्, बरु ब्रह्माण्डको एउटा यस्तो नक्सा तयार पारेका थिए, जसलाई बुझ्न आजको विज्ञानलाई अझै केही दशक वा शताब्दी लाग्न सक्छ।
कहिलेकाहीँ बाटोमा देखिने तराईको त्यो अनन्त क्षितिज र अस्त हुन लागेको सूर्यलाई हेर्दा मलाई मुण्डक उपनिषदको याद आउँछ। मुण्डक उपनिषद् (१.१.७) मा भनिएको छ:
यथोर्णनाभिः सृजते गृह्णते च
यथा पृथिव्यामोषधयः सम्भवन्ति
यथा सतः पुरुषात्केशलोमानि
तथाक्षरात्सम्भवतीह विश्वम्॥
अर्थात्, जसरी माकुरो (मकड़ी) आफ्नै शरीरबाट जालो निकाल्छ र फेरि त्यसैमा समेट्छ, जसरी पृथिवीमा ओषधिहरू उत्पन्न हुन्छन्, जसरी सजीव शरीरबाट केश र रौंहरू उत्पन्न हुन्छन्, त्यसरी नै अक्षर (अविनाशी) ब्रह्मबाट यो सम्पूर्ण विश्व उत्पन्न भएको हो।
यो श्लोकले सृष्टिको सर्जनात्मक प्रक्रियालाई निम्न बुँदाहरूमा स्पष्ट गर्दछ:
· सृष्टि परमात्माको स्वाभाविक प्रकटीकरण हो।
· सृष्टिको उत्पत्ति, स्थिति र लय सबै परमात्मामा नै केन्द्रित छन्।
· जगत् परमात्माबाट भिन्न छैन, त्यसको शक्तिको विस्तार मात्र हो।
· यो अद्वैत वेदान्तको “सत्कार्यवाद” (कारणमा कार्यको अस्तित्व) सिद्धान्तलाई पनि प्रतिबिम्बित गर्दछ।
मुण्डक उपनिषद् (१.१.६) मा यसै भावलाई अर्को श्लोकद्वारा पुष्टि गरिएको छ:
यतो वा इमानि भूतानि जायन्ते
येन जातानि जीवन्ति
यत्प्रयन्त्यभिसंविशन्ति
तद्विजिज्ञासस्व तद्ब्रह्म॥
अर्थात्, जसबाट यी समस्त प्राणीहरू उत्पन्न हुन्छन्, जसद्वारा उत्पन्न भएर जीवित रहन्छन्, जसमा प्रवेश गर्दछन्, त्यो ब्रह्मलाई जान्ने प्रयास गर।
यसरी मुण्डक उपनिषद् काे शिक्षा अनुसार यो सृष्टि पनि त्यसरी नै त्यो अक्षर पुरुष वा परमात्माबाट प्रकट भएको हो। कस्तो अचम्मको कुरा! आजको ‘बिग ब्याङ्ग’ र ‘सिंगुलारिटी’ को सिद्धान्तले पनि त आखिर यही भन्न खोजिरहेको छैन र?
अथर्ववेदको शौनकीय शाखा अन्तर्गत पर्ने यो मुण्डक उपनिषद वास्तवमा एउटा ठूलो वैचारिक क्रान्ति हो। यसले ज्ञानलाई दुई भागमा बाँडेको छ:- अपरा र परा विद्या।
१. अपरा विद्या: यो भौतिक विज्ञान, व्याकरण, गणित, खगोल विद्या आदि सम्मिलित छ। यी विद्याहरू सापेक्ष ज्ञान प्रदान गर्दछन्।
२. परा विद्या: यो आध्यात्मिक ज्ञान हो, जसले ब्रह्म (परम सत्य) को साक्षात्कार गराउँदछ। यो नै चरम ज्ञान हो।
हामीले स्कुल–कलेजमा पढ्ने, जागिर खान सिक्ने, वा भौतिक जगतका नियम बुझ्ने जति पनि विद्या छन्, ती सबै ‘अपरा’ हुन्। तर, जसले त्यो कहिल्यै नाश नहुने तत्वलाई चिनाउँछ, त्यो ‘परा’ विद्या हो। मलाई लाग्छ, आजको समाजमा हामी अपरा विद्यामा त निकै अगाडि बढ्यौँ, तर परा विद्याको अभावमा हाम्रो मन अशान्त र जीवन दिशाहीन भएको छ।
मुण्डक उपनिषद्को मूल संदेश यो हो कि अपरा विद्या (विज्ञान) महत्त्वपूर्ण छ तर यो अन्तिम सत्य होइन। विज्ञानले बाह्य जगत्को अध्ययन गर्दछ, तर यसले आन्तरिक चेतनाको यथार्थ बुझ्न सक्दैन। उपनिषद्ले दुईटैको आवश्यकता स्वीकार गर्दै परा विद्यालाई श्रेष्ठ ठहर्याउँछ:
“द्वे विद्ये वेदितव्ये इति ह स्म यद्ब्रह्मविदो वदन्ति परा चैवापरा च।”
अर्थात्, दुई विद्याहरू परा र अपरा जान्नुपर्छ ।
यसै उपनिषदको एउटा अत्यन्तै प्रसिद्ध र मेरो प्रिय मन्त्र यहाँ उल्लेख गर्न चाहन्छु:
द्वा सुपर्णा सयुजा सखाया समानं वृक्षं परिषस्वजाते ।
तयोरन्य: पिप्पलं स्वाद्वत्त्यनश्नन्नन्यो अभिचाकशीति ॥
अर्थात्, दुईवटा सुन्दर प्वाँख भएका चराहरू, जो सधैँ सँगै रहन्छन् र एकअर्काका मित्र हुन्, एउटै रुखमा बसेका छन्। तीमध्ये एउटाले रुखको फल स्वाद मानी मानी खाइरहेको छ भने अर्कोले नखाईकन केवल हेरिरहेको छ।
मन्त्रको भावार्थ यो हो कि हाम्रो शरीर रुपी यो रुखमा दुईवटा शक्ति छन्। एउटा जीवात्मा हो, जो आफ्नो कर्मको फल भोग्दै कहिले सुखी त कहिले दुःखी हुन्छ। अर्को परमात्मा वा साक्षी चैतन्य हो, जो केवल दृष्टा भएर सबै कुरा हेरिरहेको छ। आधुनिक मनोविज्ञानको भाषामा भन्ने हो भने, यो हाम्रो ‘ईगो’ (Ego) र ‘हायर सेल्फ’ (Higher Self) बीचको द्वन्द्व र सन्तुलन जस्तै हो। हामी जबसम्म फल खानमै व्यस्त हुन्छौँ, तबसम्म अशान्त रहन्छौँ, तर जब हामी त्यो दृष्टा भावमा स्थित हुन्छौँ, तब मात्र वास्तविक सुख मिल्छ।
यसपछि अर्को एउटा मन्त्र छ, जसले हाम्रो राष्ट्रिय आदर्शलाई पनि प्रतिनिधित्व गर्छ:
सत्यमेव जयते नानृतं सत्येन पन्था विततो देवयान: ।
येनाक्रमन्त्यृषयो ह्याप्तकामा यत्र तत् सत्यस्य परमं निधानम् ॥
अर्थात्, सत्यको मात्र विजय हुन्छ, असत्यको हुँदैन। सत्यद्वारा नै देवयान मार्ग अर्थात् दिव्य यात्राको बाटो प्रशस्त हुन्छ। जसको माध्यमबाट पूर्ण सन्तुष्ट भएका ऋषिहरू त्यो परम सत्यको धामसम्म पुग्दछन्।
मन्त्रको भाव यो हो कि जीवनको अन्तिम उपलब्धि र सफलता केवल इमानदारी र सत्यमा मात्र अडिएको हुन्छ। व्यवहारिक जीवनमा, चाहे त्यो गृहस्थी होस्, कृषिकर्म, वाणिज्य वा सरकारी सेवा, सत्यको बाटो कठिन देखिए पनि अन्त्यमा यसैले नै मानिसलाई आन्तरिक शान्ति र प्रतिष्ठा दिलाउँछ।
आधुनिक विज्ञानले आज ‘क्वान्टम फिजिक्स’ मार्फत जुन कुराहरू भन्दैछ, ती मुण्डकका ऋषिहरूले हजारौँ वर्ष पहिले नै अनुभव गरिसकेका थिए। पदार्थको अन्तिम इकाई ऊर्जा हो र त्यो ऊर्जाको स्रोत एउटै छ भन्ने कुरा उपनिषदको ‘अद्वैत’ दर्शनसँग ठ्याक्कै मेल खान्छ। आजको मानिसले भोगिरहेको डिप्रेसन, एन्जाइटी र एक्लोपनको अचूक औषधि पनि यही दर्शनमा लुकेको छ। हामी आफूलाई ब्रह्माण्डभन्दा अलग ठान्छौँ, त्यसैले डराउँछौँ। तर जब हामी बुझ्छौँ कि हामी त्यही अनन्त सत्यको सानो अंश हौँ, तब डर हराएर जान्छ।
गृहस्थी र साधक दुवैका लागि यस उपनिषदले दिएको शिक्षा एकदमै व्यवहारिक छ। हामीले कर्म त गर्नैपर्छ, तर ती कर्महरू केवल स्वार्थका लागि मात्र नभएर निष्काम भावले गर्दा त्यसले बन्धन बनाउँदैन। समाजमा नैतिकता कायम राख्न र मानसिक स्वास्थ्य सुधार्नका लागि पनि यो उपनिषदको स्वाध्याय जरुरी छ।
वर्तमान समयमा यसको उपयोगितालाई हेर्दा, हामीले विद्यालय तहदेखि नै बच्चाहरूलाई भौतिक विज्ञानसँगै यो जीवन विज्ञान वा आत्मज्ञानको केही अंश सिकाउनुपर्छ। दैनिक १० मिनेट मात्र भए पनि त्यो ‘साक्षी चरो’ जस्तै आफूभित्र झाँक्ने अभ्यास (ध्यान) गर्नाले हाम्रो निर्णय लिने क्षमता र संवेगात्मक बुद्धिको विकास हुन्छ।
अन्त्यमा, हामीले यो बुझ्नुपर्छ कि मुण्डक उपनिषद केवल कुनै धर्म विशेषको पुस्तक होइन, यो त मानव चेतनाको उच्चतम सम्भावनाको दस्तावेज हो। यसलाई पढ्दा र मनन गर्दा कुनै पुरानो बिर्सिएको घर फर्किँदा जस्तो आनन्द आउँछ। यो ज्ञानको ज्योतिले हाम्रो अन्धकारमय मनलाई उज्यालो पारोस् र हामीलाई सत्यको बाटोमा हिँड्ने प्रेरणा मिलोस्।
फेरि अर्को दिवस यस्तै कुनै दार्शनिक विषयमा आफ्नो मनका कुराहरू लिएर उपस्थित हुने नै छु। तबसम्मका लागि यो विचारको बीउलाई आफ्नो हृदयमा रोप्नुहोला।











