भैरहवा, २८ पुस । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता’ अन्तर्गत एकदिवसीय सिरिज रुपन्देही–११ ले क्लिनस्वीप गरेको छ । सिरिजको अन्तिम खेलमा आइतबार रुपन्देहीले त्रिभुवन आर्मी क्लब ‘ए’लाई ८२ रनले हराउँदै सिरिज क्लिनस्वीप गरेको हो । रुपन्देहीले सिरिजको पहिलो खेल ८७ र दोस्रो खेल ४९ रनले जितेको थियो । यसअघि भएको दुई दिवसीय टेष्ट पनि रुपन्देहीले जितिसकेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको सिरिजको अन्तिम खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले मौसमका कारण २८ ओभरमा छोट्याइएको खेलमा ७ विकेट गुमाएर १ सय ९१ रनको बलियो योगफल बनायो । उसका लागि अमर मिश्राले ३९, मिर्नाल गुरुङले ३१, देव खनालले २८, समीर अलीले २२, आकाश त्रिपाठीले १८, निश्चल ज्ञवालीले १६ र प्रज्वल थापाले १५ रनको योगदान गरे । बलिङमा आर्मीका घनश्याम पाण्डेले २ तथा अनिश धामी, कृष्णप्रसाद भट्टराई, पवन कार्की र जितेन्द्रसिंह ठकुरीले समान १–१ विकेट लिए । जवाफी ब्याटिङ गरेको आर्मी २४ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९ रनमा सीमित रह्यो । उसका लागि अनिश धामीले २६, प्रेम गुरुङले २५, पवन कार्कीले २३ र जितेन्द्रसिंह ठकुरीले १२ रन बनाए । बलिङमा रुपन्देहीका सन्देश थापाले ४, देव खनालले २ तथा विप्रसन केसी, अजयकुमार चौहान र मिर्नाल गुरुङले १–१ विकेट लिन सफल भए । खेलमा सन्देश थापा प्लेयर अफ द म्याच भई दुई हजार रुपैयाँ प्राप्त गरे । नेपालमै पहिलोपटक तीनवटा फम्र्याटमा दुई टीमबीच प्रतिस्र्धा भइरहेको हो । दुई दिवसीय टेष्ट र एकदिवसीय सिरिज सकिएसँगै अब टि–ट्वान्टी सिरिज हुने प्रतियोगिता संयोजक प्रथम पराजुलीले जानकारी दिए । प्रतियोगितालाई भैरहवाका व्यवसायी हरिष सेठिया र सुनिल सेठियाले आफ्ना बुवा स्वर्गीय पवन कुमार सेठियाको स्मृतिमा मुख्य प्रायोजन गरेका छन् । प्रतियोगितामा विजेता टीमले ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजले ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यी दुबै पुरस्कार भैरहवाको लुम्बिनी नेत्रालय प्रालिले प्रायोजन गरेको छ ।











