अर्घाखाँची भूमिकास्थान–रुपन्देही सम्पर्क समाजको दोस्रो वार्षिक साधारणसभा बुटवलमा सम्पन्न

  • बुटवल,२७ पुस । अर्घाखाँची भूमिकास्थान–रुपन्देही सम्पर्क समाजको दोस्रो वार्षिक साधारणसभा शुक्रबार बुटवलमा सम्पन्न भएको छ।
    कार्यक्रमको उद्घाटन बुटवल उपमहानगरपालिका वडा नम्बर १३ का वडा सदस्य लालबहादुर गुरुङले गर्नुभएको थियो। उद्घाटन मन्तव्यमा बोल्दै गुरुङले अर्घाखाँची भूमिकास्थान क्षेत्रबाट विभिन्न पेशा, व्यवसाय तथा रोजगारीका सिलसिलामा रुपन्देहीमा बसोबास गर्दै आएका व्यक्तिहरूलाई एकताबद्ध गर्दै समाजले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। उहाँले समाजले सामाजिक एकता, आपसी सहयोग र दुःख–सुखमा साथ दिने कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

    त्यस्तै कार्यक्रममा बोल्दै डाक्टर नारायणप्रसाद बेलवासेले समाज केवल भेटघाट र औपचारिकतामा सीमित नभई समाज रूपान्तरणको माध्यम बन्नुपर्ने धारणा राख्नुभयो। उहाँले अर्घाखाँची र रुपन्देहीमा रहेका विपन्न, अशक्त तथा अप्ठ्यारोमा परेका नागरिकका लागि संस्थागत रूपमा सहयोगका कार्यक्रम अघि बढाउन सुझाव दिनुभयो।

    समाजका सल्लाहकार उमलाल बन्जाडे, रामप्रसाद भुसाल, तुल्सिराम बेलवासे लगायतले बोल्दै समाजले स्थापना कालदेखि नै सामाजिक, रचनात्मक तथा मानवीय कार्यहरू गर्दै आएको उल्लेख गर्नुभयो।

    कार्यक्रम समाजका अध्यक्ष लक्ष्मण बेलवासेको अध्यक्षतामा, सचिव यमप्रसाद गैरेकाे संचालन तथा उपाध्यक्ष गोपाल गैरेले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो।

    साधारणसभामा अध्यक्ष लक्ष्मण बेलवासेले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गर्दै समाजले आगामी दिनमा सामाजिक सेवा, आपतकालीन सहयोग, शिक्षा तथा सांस्कृतिक गतिविधिलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो। साथै लेखा समिति संयोजक थम्मन केसीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

    २०७९ सालमा स्थापना भएको अर्घाखाँची भूमिकास्थान–रुपन्देही सम्पर्क समाजले हालसम्म विभिन्न सामाजिक तथा रचनात्मक कार्यहरू गर्दै आएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation