दाङ ,१९ पुस। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायको परम्परागत कला र संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्दै त्यसलाई व्यवसायीक रूपमा अघि बढाउन जरुरी रहेको बताउनुभएको छ । थारु कल्याणकारिणी सभा दाङले शनिबार घोराहीमा आयोजना गरेको माघ सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले कला संस्कृतिलाई पर्यटनसँग जोडेर आम्दानीको माध्यम बनाउन सकिने बताउनुभएको हो ।
उहाँले थारु समुदायका संस्कृतिहरू केवल माघ पर्वका अवसरमा मात्र सीमित नराखी वर्षैभरि प्रस्तुत गर्ने र व्यवस्थित ढंगले विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सक्ने गरी कार्यक्रमहरू अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो । थारु संस्कृति जोगाएर राख्ने समुदायप्रति उहाँले आभार समेत व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री आचार्यले थारु समुदायलाई राज्यको मूलधारमा ल्याउने उद्देश्यसहित प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्नुभयो । थारु समुदायको कला, संस्कृति, सभ्यता र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण तथा सिकाइका लागि थारु संग्रहालयलाई उपयोग गरिएको बताउनुभयो । प्रदेश सरकारको बजेटबाट थारु संग्रहालय निर्माण गरिएको जानकारी दिँदै उहाँले देशभरका थारु समुदायको भेषभूषा, संस्कृति र परम्पराबारे सिक्न सक्ने साझा केन्द्रका रूपमा संग्रहालय स्थापना गरिएको बताउनुभयो ।
उहाँले संस्कार र संस्कृति पुस्तान्तरण हुनु आवश्यक रहेको उल्लेख गर्दै यसको संरक्षणका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो । भौगोलिक विविधताजस्तै समुदाय अनुसार कला र संस्कृतिमा रहेको विविधता नै लुम्बिनी प्रदेशको वैभव भएको उहाँको भनाइ थियो ।
थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष अशोक चौधरीको अध्यक्षतामा तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा माघ सांस्कृतिक महोत्सवको उद्घाटन गरिएको हो ।











