बुटवल,१२ पुस । वसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान बखानका बारेमा बुटवलमा छलफल गरिएको छ।
बुटवलमा लेखक र पाठकका बीचमा बखान पुस्तकका बारेमा छलफल गरिएको थियो। कार्यक्रममा लेख पराजुलीले पुस्तकमा बखानसिंह गुरुङको जीवनकथाका साथसाथै चितवनको बस्ती विकास, सहकारी अभियानको आरम्भ र नेपालको प्रजातान्त्रिक आन्दोलनका विषयहरु रोचक ढंगले प्रस्तुत गरिएको बताए। नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष समेत रहेका उनले बखानसिंह गुरुङको सैनिकदेखि मन्त्री हुँदासम्मका उवडखावड यात्रा, पारिवारिक विछोड र राजनीतिक टकराव समेटेर आख्यानका रुपमा प्रस्तुत गरेको बताए।
‘पुस्तकमा बखानसिंहको बखानमात्रै छैन, त्यसबेलाको भौगोलिक, सांस्कृतिक, राजनीतिक, आर्थिक र सामाजिक पाटा पनि छन्-उनले भने-बखानसिंहलाई केन्द्रमा राखेर २००७ सालदेखि २०४० सालसम्मका प्रमुख राजनीतिक घटनाक्रमलाई समेटिएको छ।’
पुस्तकमा चितवनको बस्ती विकास, चितवन राष्ट्रिय निकुञ्जको स्थापना, त्यहाँ गरिएका सिकार, थारु जातिको जीवनशैली र मलेरियासँग जुधेर बाँचेका थारुहरुको जीवन्त चित्रण गरिएको छ।
पत्रकार महासंघ रुपन्देहीका सचिव सीपी खनालको सहजीकरण र हिमालय बुक हाउसका सञ्चालक माधव गौतमको धन्यवाद ज्ञापनमा भएको कार्यक्रममा पाठकहरुले राखेका जिज्ञासाको जवाफ दिदै लेखक पराजुलीले पुस्तकले राजा महेन्द्रको मृत्यु, राष्ट्रिय निकुञ्जका जनावर र ती जनावरबारेका रोचक प्रसंगहरु उल्लेख गरिएको बताए।











