दीप बोर्डिङमा प्रिन्सिपल सरसँग मनका कुराः किताबभन्दा बाहिरको एउटा सार्थक बहस

  • बुटवल,११ पुस । सामान्यतया विद्यालयको प्रशासन र विद्यार्थीबीच एउटा अदृश्य पर्खाल हुन्छ। प्रिन्सिपलको कार्यकक्ष अगाडिबाट हिँड्दा पनि हच्किने विद्यार्थी र कडा अनुशासनको घेराभित्र रहने नेतृत्व। तर, बुटवलस्थित दीप बोर्डिङ हाई स्कुलले हालै यो दूरीलाई एउटा अनुपम अभ्यास मार्फत भत्काएको छ।
    विद्यालयको हलमा कक्षा ७ का विद्यार्थीहरूले आयोजना गरेको “प्रिन्सिपल सरसँग मनका कुराः किताब र जीवनको यात्रा“ संवाद कार्यक्रममा दृश्य अलि फरक देखियो। करिब दुई घण्टा चलेको उक्त संवादमा विद्यार्थीहरूले आफ्ना प्रिन्सिपल टीकाराम न्यौपानेलाई केवल एक प्रशासकका रूपमा मात्र होइन, एक अभिभावक र साथीका रूपमा समेत नजिकबाट चिन्ने मौका पाए।
    संवाद सुरु हुनुअघि दित्या ठकुरीले तयार पारेको प्रिन्सिपलको ’बायोग्राफी भिडियो’ प्रदर्शन गरिएको थियो, जसले उहाँको व्यक्तिगत र शैक्षिक संघर्षलाई चित्रण गरेको थियो।
    संवादको थालनी र कार्यक्रमको लक्ष्य
    कार्यक्रमको सुरुवातमै विद्यार्थी प्रियङ्का पन्थले स्वागत मन्तव्य मार्फत संवादको उद्देश्य स्पष्ट पारेकि थिइन। उनले विद्यालयलाई केवल अंक र परीक्षाको केन्द्र मात्र नभई, निर्धक्कसँग आफ्ना भावना साटासाट गर्ने थलोका रूपमा विकास गर्न यो कार्यक्रम आयोजना गरिएको बताईन। प्रिन्सिपल र विद्यार्थीबीचको दूरी घटाउने, विद्यार्थीका गुम्सिएका जिज्ञासालाई बाहिर ल्याउने र उनीहरूलाई मनोवैज्ञानिक रूपमा सबल बनाउनु नै कार्यक्रमको मुख्य लक्ष्य रहेको थियो ।
    संवादको थालनी
    कार्यक्रमको सुरुवात निकै रोचक र भावनात्मक थियो। मोडरेटर आयुसा खाम्चाले एउटा सानो चराको कथा सुनाउँदै जिज्ञासा राख्न प्रेरित गरेपछि प्रश्नोत्तरको शृङ्खला सुरु भयो। संवादको पहिलो खण्ड प्रिन्सिपलको बाल्यकालमा केन्द्रित थियो।
    विद्यार्थी वानी सिंहले सोधेको प्रश्न, “के तपाईंले पनि हाम्रो उमेरमा कहिल्यै गृहकार्य नगरेर कुटाइ खानुभएको छ?“ ले हलमा हाँसोको फोहोरा छुटायो। यसले प्रिन्सिपल र विद्यार्थीबीच रहेको पदको गाम्भीर्यतालाई केही बेरका लागि बिर्सिदियो र संवादलाई निकै सहज बनायो।
    अपेक्षाको बोझ र सामाजिक चुनौती
    संवाद केवल रमाइलोमा मात्र सीमित रहेन। विद्यार्थीहरूले आफ्ना भित्री डर र सामाजिक चुनौतीहरूलाई पनि गम्भीरताका साथ पस्किए। विशेषगरी अभिभावकले राख्ने उच्च अंकको अपेक्षा र अरूसँग गरिने तुलनाले उनीहरूको आत्मविश्वासमा पार्ने चोटबारे देवीड थारु र आदित्य कार्कीले प्रश्न उठाएका थिए।
    जवाफमा प्रिन्सिपल टिकाराम न्यौपानेले भन्नुभयो, “अंक मात्रै सबैथोक होइन, तर तिमीहरूले गर्ने प्रयास इमानदार हुनुपर्छ। अभिभावकको अपेक्षालाई दबाबका रूपमा होइन, उहाँहरूको माया र भरोसाका रूपमा बुझ्ने कोसिस गर।“ यस्तै, अनुश पाण्डेले विद्यालयमा हुने ’बुलिङ’ (जिस्काउने बानी) का बारेमा राखेको प्रश्नमा उहाँले विद्यालय परिसरभित्र यस्ता क्रियाकलापमा शून्य सहनशीलता अपनाइने र सबै विद्यार्थीलाई समान सम्मानको वातावरण बनाइने प्रतिबद्धता जनाउनुभयो।
    मोबाइलको विरोधाभास र आधुनिक समय
    आधुनिक समयको मुख्य चुनौतीका रूपमा रहेको मोबाइल फोनको प्रयोगका बारेमा पनि रोचक बहस भयो। प्रशिका शाहीले एउटा व्यावहारिक विरोधाभास प्रस्तुत गरिन्। उनले भनिन्, “एकातिर मोबाइल नचलाउन भनिन्छ, अर्कोतिर धेरैजसो गृहकार्य र रिसर्चका लागि मोबाइलकै प्रयोग गर्नुपर्ने हुन्छ। यो अन्योललाई कसरी सन्तुलन गर्ने?“ प्रिन्सिपल न्यौपानेले यसलाई प्रविधिको ’दोहोरो धार’ भन्दै सम्झाउनुभयो, “मोबाइललाई तिमीहरूले प्रयोग गर्ने हो, मोबाइलले तिमीहरूलाई प्रयोग गर्ने होइन। ज्ञान खोज्नका लागि चलाउँदा त्यो बरदान हुन्छ, तर लत बस्यो भने त्यसले भविष्य अन्धकार बनाउँछ। समय तालिका बनाएर प्रविधिको सदुपयोग गर्न सिक।“
    पेन्सिल र इरेजरको अर्थपूर्ण उपहार
    कार्यक्रमको अन्त्य निकै सांकेतिक र मर्मस्पर्शी रह्यो। विद्यार्थीहरूले प्रिन्सिपल न्यौपानेलाई ’मायाको चिनो’ स्वरूप पेन्सिल र इरेजर प्रदान गरे। उनीहरूले पेन्सिलले जस्तै आफूहरूलाई तिखारेर असल मान्छे बनाउन र इरेजरले जस्तै आफूहरूका नराम्रा बानी र गल्ती मेटिदिन अभिभावकीय भूमिकाको अपेक्षा गरे।
    एउटा नयाँ सुरुवात
    यो संवाद कार्यक्रम समापन भए पनि यसले एउटा नयाँ बहसको सुरुवात गरेको छ। प्रिन्सिपल टीकाराम न्यौपानेले विद्यार्थीका प्रश्नहरूले आफूलाई समेत सोच्न बाध्य बनाएको र उनीहरूको भविष्यको मार्ग स्पष्ट पार्न विद्यालय सधैं तत्पर रहने बताउनुभयो। धन्यवाद मन्तव्य ब्यक्त गर्दै विद्यार्थी सुहास ज्ञवालीले विद्यालयमा केवल किताबका पाना मात्र होइन, जीवन जिउने कला र मनका कुरा पनि सुनिन्छन् भन्ने उदाहरण यो कार्यक्रमले दिएको बताए । कार्यक्रममा कक्षा ७ का ४ वटै सेक्सनका विद्यार्थीको सहभागीता थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation