भैरहवा, ११ पुस । सेवा नै जीवनको मूल मन्त्र मान्ने रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले आफ्नो नयाँ नेतृत्वको घोषणा गरेको छ। क्लबको वार्षिक साधारणसभामा सर्वसम्मतिबाट रोटरियन गंगाधर भण्डारीलाई रोटरी वर्ष २०२६/२७ को लागि अध्यक्षमा चयन गरिएको हो। उनी क्लबको इतिहासमा ११औं अध्यक्ष बन्न सफल भएका छन्। साथै, रोटरियन उपेन्द्र यादवलाई सोही वर्षको लागि क्लब सचिव पदमा चयन गरिएको छ। यो ऐतिहासिक निर्णय होटल सनस्टारमा सम्पन्न वार्षिक बैठकमा भएको थियो।
क्लबका पास्ट प्रेसिडेन्ट रोटरियन प्रेम शर्मा लोहनी र शिवप्रसाद गौडेलले भण्डारीको नाम प्रस्ताव गरेका थिए भने वर्तमान अध्यक्ष रोटरियन बिष्णु शर्माले औपचारिक घोषणा गर्दै खुशी व्यक्त गरे। अध्यक्ष शर्माले भने, “रोटरियन भण्डारीको समर्पण र नेतृत्व क्षमताले क्लबलाई नयाँ ऊर्जा दिनेछ। उहाँले समाजसेवामा थप योगदान दिएर क्लबको नाम रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भूटानमा अझ उज्यालो बनाउनुहुनेमा हामी पूर्ण विश्वस्त छौं।”
नवनिर्वाचित अध्यक्ष रोटरियन गंगाधर भण्डारीको जन्मस्थान सितगंगा नगरपालिका, अर्घाखाँची जिल्ला हो। उनले आफ्नो सम्पूर्ण शिक्षा भारतमा पूरा गरेका छन् र पुणेको प्रतिष्ठित सिम्बायोसिस इन्टरनेसनल युनिभर्सिटीबाट एमबीए उत्तीर्ण गरेका छन्।
भारतमा बहुराष्ट्रिय कम्पनीहरूमा महत्वपूर्ण व्यवस्थापकीय पदहरूमा लामो समय काम गरेपछि उनी १२ वर्षअघि नेपाल फर्किएका थिए। हाल उनी क्वालिटी रोटो प्याकेजिङ प्रालिका महाप्रबन्धकको रूपमा सफल व्यवसायीका साथै समाजसेवामा पनि उत्तिकै सक्रिय छन्।
सन् २०१९/२० मा क्लबको सदस्य बनेका भण्डारीले छोटो समयमै क्लबको अभिन्न अंग बन्न सफल भए। क्लब सर्विस प्रोजेक्ट चेयर, क्लब एडमिन चेयर देखि लगातार दुई वर्ष (२०२३/२४ र २०२४/२५) क्लब सचिवको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे र डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानबाट ‘उत्कृष्ट सचिव’ को सम्मानजनक पुरस्कार पनि हात पारेका थिए।
रोटरी वर्ष २०२५/२६ मा यंग लिडर कन्ट्याक्टको भूमिका निर्वाह गर्दै क्लबको सिग्नेचर सेवा परियोजनामा परियोजना संयोजकको रूपमा उनले क्लबको मेरुदण्डको काम गरेका छन्। विशेष गरी क्लबको सिग्नेचर प्रोजेक्ट मोतिबिन्दु (क्याटार्याक्ट) शल्यक्रिया परियोजनाले सयौं गरिब तथा अशक्त व्यक्तिहरूलाई नयाँ उज्यालो दिएको छ।
यसबाहेक कोभिड–१९ महामारी र जाजरकोट भूकम्पजस्ता संकटका घडीमा क्लबले सञ्चालन गरेका राहत तथा सेवा परियोजनाहरूमा भण्डारीको योगदान अतुलनीय रहेको क्लब सदस्यहरूले बताएका छन्।
समाजसेवाप्रति गहिरो प्रतिबद्धता राख्ने भण्डारी लायन्स क्लब अफ लुम्बिनी लाइट, नया कोलोनी टोल सुधार समिति र सितगंगा भैरहवा सम्पर्क समाजजस्ता संस्थाहरूमार्फत पनि निरन्तर सक्रिय छन्। उनको सपना छ – गरिब र आवश्यकता भएकाहरूको जीवनमा ठूलो सामाजिक प्रभाव पार्ने।
क्लबका सदस्यहरू उत्साहित छन् – भण्डारीको गतिशील नेतृत्वमा क्लबले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षणलगायत क्षेत्रमा अझ प्रभावकारी परियोजना सञ्चालन गरी नयाँ कीर्तिमान कायम गर्ने विश्वास छ।
“Service Above Self” को रोटरी भावनालाई आत्मसात् गर्दै रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले फेरि एकपटक समाजसेवाको नयाँ अध्याय लेख्न तयार छ !











